आन्दोलनलाई भारतको सहयोग रहेको अशोक राइको खुलासा
सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता तथा संसदीय दलका नेता अशोक राईले मुख्य तीन दलका नेताले आन्दोलनरत दलका कुरा नसुनेका कारण वार्ताको वातावरण बन्न नसकेको बताएका छन् ।
सङ्घीय प्रेस फोरम इलामले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा नेता राईले विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने, मधेस आन्दोलनमा मृत्यु भएकालाई उचित क्षतिपूर्ति दिइनुपर्ने, घाइतेको निःशुल्क उपचार गर्नुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने र दङ्गाग्रस्त क्षेत्रबाट सेनालाई फिर्ता बोलाउन सम्बोधन गरेमा पूरै समस्या समाधान हुने उल्लेख गरे ।
उनले अन्तरिम संविधानको मर्म र भावना विपरित जारी भएको संविधानले निकास दिन नसक्ने बताए । भारतीय पक्षलाई नाकाबन्दी गर्न तपाईहरूको दलले उक्साएको हो नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले आफूहरूले आन्दोलनको स्वरूप परिवर्तन गरेर सीमा नाकामा पलेंटी मारेर नाकाबन्दी गरेको बताउँदै भारतबाट आफूहरूलाई सहयोग भईरहेको र त्यसको स्वागत गर्छौं, भने । रासस

