अवरुद्ध नाका खोल्न चीन तयार
काठमाडौं: भूकम्पपछि अवरुद्ध सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ नाका सञ्चालनमा ल्याउन चीन सकारात्मक भएको छ।
तराई केन्द्रित दलले विभिन्न माग राखेर नेपाल-भारत सीमा क्षेत्र र राजमार्गमा आन्दोलन गरेका कारण सामान ढुवानीमा समस्या आएपछि तल्कालै यी नाका सञ्चालन गर्न चीन तयार भएको हो।वाणिज्य तथा आपूर्ति मन्त्रालयले दसैं अगावै ती दुई नाका खोल्न चिनियाँ पक्षले हर सम्भव प्रयास गर्ने आश्वासन दिएको जानकारी दिएको छ।
मन्त्रालयका सचिब ङइन्द्रप्रसाद उपाध्यायले सहज रूपमा दैनिक उपभोग्य वस्तु आपूर्तिमा सघाउन चीनले सकारात्मक आश्वासन दिएको बताए। व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले चाड पर्व र दैनिक उपभोग्य वस्तुको आपूर्तिका विषयमा सरोकारवाला निकायसमेतको सहभागितामा बिहीबार आयोजना गरेको बैठकमा सचिव उपाध्यायले दुईवटा नाका छिट्टै सञ्चालनमा आउने चिनियाँ पक्षले आश्वासन दिएको बताए।
काठमाडौंस्थित चिनियाँ दूतावासका कन्सुलरसहितको टोलीले यस्तो आश्वासन दिएको हो। चिनियाँ टोलीसँग बुधबार मन्त्रालयमा नियमित भेटघाटका क्रममा बाटो सुचारु गर्ने विषयमा द्विपक्षीय छलफल भएको थियो।
तराई केन्द्रित दलले विभिन्न माग राखेर नेपाल-भारत सीमा क्षेत्र र राजमार्गमा आन्दोलन गरेका कारण सामान ढुवानीमा समस्या आएपछि तल्कालै यी नाका सञ्चालन गर्न चीन तयार भएको हो।
सचिव उपाध्यायले भूकम्पका कारण अवरुद्ध दुवै नाका सुचारु गर्न चिनियाँ टोलीले आवश्यक सबै सहयोग गर्ने आश्वासन दिएको बताए। 'तराईमा आन्दोलन भइरहेको अवस्थामा भारतीय सीमासँग जोडिएका व्यापारिक नाका प्रभावित भएकाले दैनिक उपभोग्य सामग्री आपूर्ति गर्न कठिन भएको छ' ,सचिव उपाध्यायले भने।
उनले तराईमा भइरहेको आन्दोलनलाई राजनीतिक रूपमा सम्बोधन नगरिए भविष्यमा दैनिक उपभोग्य सामग्रीको ठूलै अभाव व्यहोर्न बाध्य हुनुपर्ने अवस्था आउन सक्ने भन्दै समस्या समाधानका लागि सभासद्हरूसँग आग्रह गरे।
नेपालमा आगामी तीन महिनासम्मका लागि खाद्यन्न मौज्दात छ। उनका अनुसार तातोपानी र केरुङ-रसुवागढी सडक खण्डमा नियमित रूपमा गइरहेको पहिरोका कारण बाटो सुचारु गर्न समस्या परेको छ।
यी सडक खण्डतर्फ चिनियाँ क्षेत्रमा करिब २५ किलोमिटर खण्ड पहिरोले अवरुद्ध पारेको छ। 'पहिरो पन्छाउन सकियो भने तत्कालै यो बाटो सुचारु हुन सक्छ', उपाध्यायले भने, ‘तातोपानी बाटो खुलाउन प्राविधिक रूपले जोखिमयुक्त मानिएकाले चिनियाँ टोलीले केरुङ-रसुवागढी सडक खण्डलाई प्राथमिकतामा राखेर सुचारु गराउने आश्वासन दिएको छ।'
उनले कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन प्रभावकारी बनाउन सरोकारवाला निकायलाई निर्देशन दिइएको जानकारी दिए।बैठकमा सहभागी सांसद् सुभाषचन्द्र ठकुरी, शम्भुलाल श्रेष्ठ, शान्ता मानन्धर, भेषकुमारी राउत, आदित्यनारायण कसौधन,लीलादेवी श्रेष्ठलगायतकाले वैकल्पिक नाका तत्कालै सुचारु गरेर दैनिक उपभोग्य खाद्यान्न वस्तु, पेट्रोलियम पदार्थ, औषधिलगायतका सामग्री सहज रूपमा ढुवानी गरी आम उपभोक्तालाई राहत दिन सरकारसँग आग्रह गरे।
समितिका सभापति भिष्मराज आङदम्बेले सम्बन्धित निकाय र सरोकारवाला मन्त्रालयसँग समन्वय गरेर दैनिक उपोभोग्य वस्तु सहज बनाउन सरकारलाई निर्र्देशन दिए।