म साउदी बाट यसरी भागेर नेपाल आउन सफल भए !

गाउँमा रोजगारीका अवशर उति थिएनन् । दुईचार पैसा हातमा हुन्थेन । घर व्यवहार चलाउने मेलोमेसो मिलाउनै धौधौै थियो । त्यसैले लाउँ लाउँ र खाउँ खाउँको उमेरकी आशिका तामाङ(१९)का लागि बैदेशिक रोेजगार रोजाई भन्दा धेरै वाध्यता थियो । सिन्धुपाल्चोक, नेपालबाट महिला बैदेशिक रोजगारीमा जाने पहिलो जिल्ला ।देउरानी जेठानी दुवै कामको खोजिमा थिए । अर्कातिर उनीहरु जस्तै काम र दामले फिटफिटी परेका र विदेश जान तत्पर महिला खोज्दै थिए गाउँकै एजेण्ट ।





नातामा उनी काका ससुरा पर्दथे । तिनै काका ससुराले काठमाडौं आएर राहदानी बनाइदिए दुवै देउरानी जेठानीको । एक पैसा लागेन । सन्तोष माने उनीहरुले । गन्तव्य थियो खाडीको देश कुवेतको । हरियो राहदानी हात परेका दिन कम्ता खुसी भएन । अव छिट्टै कुवेत पुगिन्छ र महिनैपिच्छे तलव हात पर्छ भनेको सुनेदेखि उनीहरु दिन गनेर बसे कुवेत उड्नका लागि । नभन्दै त्यो दिन पनि आयो । अर्थात कुवेतका लागि उडे उनीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट । दुई वर्षका लागि देउरानी जेठानी एउटै हवाईजहाज चढेर उत्रिए कुवेत । एजेण्टकोसम्म सँगै थिए उनीहरु । तर त्यहाँ पुगेपछि उनीहरु छाँगाबाट खसे झैं भए । आफूहरु गाईबस्तु जस्तै लाम लागेर बस्नु पर्ने, अरवी साहुहरु आएर मोलतोल गर्दै दरदाम तोक्न थालेपछि सातो उड्यो उनीहरुको । तर विरानो देशमा अव नाईनास्ती गर्ने ठाउँ थिएन उनीहरुसम्ग ।

उमेरले भर्खर १९ टेकेकी आशिकालाई पहिले लग्यो रोजगारदाताले । ‘लग्यो के भन्नु, म जेठानी भन्दा अघि बेचिएँ’ उनी भन्दै गइन् । त्यसपछि जेठानी रोमाली अन्तै पुगिन्, आशिका अन्तै । कुवेतमा बसुञ्जेल खास गाह्रो थिएन । परिवार सानो थियो । कामको धपेडी उति भएन । त्यो घरमा अरु तीनचारजना घरेलु कामदार भएकाले काम खासै थिएन पनि । तर झण्डै एक महिनापछि कुरा अर्कै भयो । खासमा उनी काम गर्ने घरको मालिकले महिला घरेलु कामदार साउदी पुर्र्याउने रहेछन् । नेपालबाट सिधै साउदीमा घरेलु काममा लैजान मुस्किल पर्नेभएपछि कुवेत हुँदै त्यसरी साउदी पुर्याइन्थ्यो । अर्थात नेपालबाट उडेकी आशिका चौथो दलालबाट फेरी बेचिंदै थिइन् । त्यो घरमा काम गर्न बसेका अर्की एकजना नेपाली सहित आशिका पुगिन् साउदीको जुवेलमा ।

 .................................... साउदी लान खोजेपछि उनले नेपालमा फोन गरेर एजेण्टलाई यो कुरा बताइन् । किन नेपालमै साउदी लैजाने भनेर आफूलाई भनिएन भनेर रिसाइन । तर एजेण्टले आफूलाई यो कुरा थाहा नभएको भन्दै पन्सियो । तर खासमा उनीहरुलाई थाहा हुन्छ भन्ने लाग्छ आशिकालाई । एकजना मान्छे पठाउँदा घटीमा तीनलाख खान्छन् रे भन्ने उनले उतै पुगेपछि सुनिन् । तर उनीसँग त्यहाँ सुन्ने र मन दुखाउने बाहेक अन्य उपाय थिएन । न कहाँ उजुरी गर्ने भन्ने थाहा थियो, न त त्यसको बाटो नै देखेकी थिइन् उनले । एजेण्टले भने अनुसार चुपचाप काम गर्नुको विकल्प भएन उनीसँग ।

........................................................ अव भनें साँच्चै कष्टकर जीवन सुरु भयो । परिवार ठूलो थियो । बच्चा ७ जना थिए । उनी सहित परिवारमा १० जना भए । काम गर्दा गर्दै रातको १२ बज्थ्यो । विहान ४ बजे नउठे काम भ्याईन्नथ्यो ।तलव चाहिं तीन तीन महिनामा दिईन्थ्यो । तलव पहिलो बर्ष ७ सय रियाल थियो । एकबर्ष पछि बढेर प्रतिमहिना एक हजार भयो । यहि गतिमा काम गरेर उनले झण्डै साढे तीन बर्ष विताइन् । दुई वर्ष वितेपछि मलाई घर फर्काइदेउ भन्ने अनुरोध सुनेको नसुन्यै गरे घरमालिकले । ५ बर्ष बसेपछि मात्र फर्काउने उनीहरुले दोहोर्याइरहे । परदेशको ठाउँ, सवै विराना थिए । घरको सम्झनाले मन भतभती पोल्थ्यो । तर वह पोख्ने कोहि थिएन । घर फर्काइदेउ भन्न थालेदेखि फोन सम्पर्क पनि टुटाईदिएका थिए मालिकले । त्यसैले बन्धक झैं उनी त्यहि घरमा कैद थिइन् । उनले भाग्ने कोशिष नगरेकी होइनन् । एकपटक भागेर प्रहरीसम्म पुगेकी थिइन् । तर प्रहरीले तिनैै घरमालिकलाई बोलाएर घर फर्काइदिन्छु भन्ने कागज गराएर उनकै साथ लगाएर फर्काइदिएपछि उनले उपाय देखिनन् । साउदीको प्रहरी पनि आफ्नै नागरिकका पक्षमा लाग्ने देखेपछि मनले पनि हरेश खायो ।

......................... साउदीमा धेरै महिलालाई मारेर फालिदिन्छ रे भन्ने उनले सुनेकी थिईन । त्यसैले आफूलाई पनि कतिबेला कुन आपत आइलाग्ने हो भनेर उनी हरदम चनाखो रहन्थिन् । खान दिएको कुरा पनि हतपत खाइहाल्दिनथिईन् । के थाहा, कतै विष पो मिसाईदिएको छ की ? एकपटक उनको परिवार घुम्न भनेर मरभूमितिर लाग्यो । उनलाई लाग्यो ‘अव मेरो मिति पुगेछ ।’किनकी उनले मन नपरेका घरेलु कामदारलाई त्यसरी नै घुम्न जाने बहानामा मरभूमीको अनकण्टार ठाउँमा लगेर मारेर पुरिदिन्छन् रे भन्ने सुनेकी थिइन् । त्यसैले उनको मनमा ढ्याँग्रो ठोकिरह्यो । केहि गरी आक्रमण गरिहाले भनें कसरी बाँच्ने भनेर उपाय सोचिरहिन् । तर उनले कल्पना गरेजस्तो केहि भएन । दुईतीन दिन बसेर उनीहरु घर फर्के । अर्को जुनी पाए झैं लाग्यो उनलाई ।

...................................... उनलाई खद्दामा(घरेलु कामदार) को कार्ड बनाईदिएको थिएन । सो कार्ड नभई विरामी पर्दा पनि उपचार गर्न सम्भव थिएन । त्यसैले विरामी पर्दा उनलाई बच्चाले खाने औषधी दिइन्थ्यो । घरमा बच्चाका लागि ल्याएका जुन औषधी छन्, तिनै दिन्थे । धन्य उनलाई कुनै ठूलो स्वास्थ्य समस्या भनें भएन । नत्र उपचार नपाई साउदीमैै मर्ने निश्चित ठान्छिन् उनी ।

.............................. एकदिन तिनै रोजगारदाताकी आमाको घरमा गएकी थिइन् आशिका परिवारको साथमा । त्यहाँ अर्की एउटी नेपाली महिला कामदार भेटिइन् । दाङ्की ति महिलासँग मोवाईल फोन थियो र उनीसँग जिफण्ट सपोर्ट ग्रुप, साउदीका राज तामाङको नम्वर पनि । उनले लुकेर त्यहिंबाट कुरा गराईदिईन् । आशिकाले आफूलाई परेको मर्का, घर फर्किन नपाएको पीडा एकै सासमा सुनाइन् । त्यसपछि राजले पछि भेट्न आउनेगरी ठेगाना लिए उनको । नभन्दै अर्को हप्ता उनी आशिकालाई खोज्दै आइपुगे । घर बाहिर निस्केर आशिकाले सवै पीर सुनाइन् र आफूलाई जसरी पनि नेपाल फर्काईदिन मद्धत मागिन् । राजले केहिसमय पर्खिन भने । जाँदा जाँदै उनले आफ्नो मोवाईल दिएर लुकाएर राख्न, साह्रै अप्ठ्यारो परेमा लुकेर खवर गर्न अह्राए । मनमा आश पलायो घर जान पाइएला भन्ने ।

................................................................... अर्को महिना राजले बाहिर निस्कन सुचना दिए । उनी घरका मान्छेको आँखा छलेर बाहिरिइन् । राजले उनलाई लिएर सिधै प्रहरीकोमा गए र यसको सुचना दुतावासलाई पनि दिए । । तीन दिन प्रहरीले राखेपछि उनलाई अर्कै अफिस(घरफिर्ति केन्द्र) मा लगियो । उनी त्यहाँ अढाई महिना बसिन् । त्यहाँ उनीजस्तै घर फर्किन चाहने थुप्रै नेपाली र भारतीय महिला थिए । झण्डै एक डेढसय थिए होलान् । रोजगारदाताले पछिल्लो ६ महिनाको तलव(६ हजार रियाल) र घर फिर्ति टिकट नदिएपनि उनी अन्ततः नेपाल उत्रिइन् । दोश्रो जुनी पाए जस्तै भयो उनलाई ।

.................................................................... उनी कान्छि श्रीमति । श्रीमानसँग पनि ठाकठुक परेको छ । कुवेत पुगेको केहि दिनमा पैसा पठा भनेर फोन गरेका थिए श्रीमानले । त्यहि विषयमा भनाभन भएपछि श्रीमानले वास्ता गनै छोडे । उनी हाल मलेसियामा छन् । आशिका पनि आफ्नै गरिखाने मेलो मिलाउँदैछिन् । साउदी बस्दा कमाएर पठाएको रकमले सानो उद्यम सुरु गर्ने आँट छ । त्यस्तो ठाउँबाट त बाँचेर आइयो, आफ्नो ठाउँमा गरेर खान कसोनसकिएला र ?उनले हिम्मत कसिसकेकी छिन् ।

................... अहिले पनि थुप्रै नेपाली महिला बैदेशिक रोजगारीमा जान्छन् । त्यसरी जाँदा के गर्नुपर्ने रहेछ भनेर आशिकाले राम्रोसँग बुझिसकेकी छिन् । आपतमा परे कहाँ सम्पर्क गर्ने भन्ने फोन नम्वरहरु लुकाएर राख्नुपर्ने रहेछ भन्ने उनले बुझेकी छिन् । अर्को, थोरै भएपनि भाषा नजानी खाडीमा जानु हुन्न रैछ भन्ने पनि उनले थाहा पाइन् । कुवेत हुँदै साउदी पुर्याइएकी र बल्लतल्ल त्यहाँबाट उम्किन सफल आशिकाको भनार्ई छः सके त त्यहाँ जाँदै नजानु, जानै नै हो भनें राम्रोसँग बुझेर मात्र जानु नत्र दुःख पाइन्छ

प्रतिक्रिया दिनुहोस