सैनिक विमानबाट हवाइ इन्धन ल्याउने तयारी
१४ असोज, काठमाडौं ।
उडानलाई प्रभावित हुन नदिन सरकारले बंगलादेशबाट रसीयन विमान क्यानडीड, चिनियाँ र अमेरिकी सैनिक विमानबाट तेल आपूर्ति गर्ने तयारी गरेको छ ।भारतले गरेको नाकाबन्दीका कारण हवाई इन्धन आपूर्ति रोकिएपछि सरकारी अधिकारीहरुले बंगलादेशबाट एयरलिफ्ट मार्फत् इन्धन खरिद गरेर ल्याउन सकिनेलगायतका तीन वटा उपाय सरकारलाई सुझाएका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा गठन भएको प्राविधिक समितिले चारवटा इन्जिन भएको रसियन विमान इलुसीन आइएल- ७६ विमान भाडामा लिई हवाई इन्धन आपूर्ति गर्न सकिने सिफारिस गरेको छ ।
वाणिज्य, गृह, पर्यटन र अर्थ मन्त्रालयको सचिवस्तरीय बैठकले मंगलबार गठन गरेको ७ सदस्यीय प्राविधिक समितिले यसलाई तत्काल गर्न सकिने पहिलो सुझाव भनेको छ । व्यापारिक प्रयोजनका लागि बनाईएको यो विमानले दुर्गम स्थानमा सैनिक कार्गो गर्छ । हाल यो विमान भारत, रसीया, युक्रेन लगायतका सेनाहरुले उडाइरहेका छन् ।
प्राविधिक समितिले पहिलो उपाय सम्भव नभए चीन र अमेरिकी सैनिक विमानबाट तेल आपुर्ती गर्न सकिने दोस्रो उपाय निकालेको छ । ‘बैठकले दोस्रो विकल्पमा चीन र अमेरिकी सैनिक विमानबाट इन्धन बोक्न सकिने भनेको छ, बिहीबार सरकारलाई उपयुक्त उपाय सुझाउने छ,’ पर्यटन सहसचिव आचार्यले भने । उनका अनुसार भुकम्पका बेला नेपालमा सहायता लिएर आएका सैनिक विमान सी-१७ ग्लोबमास्टर विमानले तेल आपुर्ती गर्न सक्छन् । लडाईमा बन्दोबस्ती लगायत कार्गो बोक्ने यो विमानले ७० हजार किलोग्रामसम्म कार्गो बोक्न सक्छ । आजको कान्तिपुरमा खबर छ ।

