एमाले महासचिवले भने- सञ्चार मन्त्रीलाई धिक्कार !
१३ असोज, काठमाडौं ।
जनस्तरबाट भैरहेको भारतीय अघोषित नाकबान्दीको विरोधलाई समेत सरकारले असफल बनाउन लागेपछि ब्यापक आलोचना भएको छ ।
भारतसँग कुटनीतिकस्तरमा वार्ता गरेर कुरा मिलाउन पनि नसक्ने र जनस्तरबाट भएका प्रतिरोधलाई पनि स्वीकार गर्न नसक्ने मनस्थितिमा सरकार देखिएको छ ।
भारतीय च्यानल बन्द भएपछि भारतीय मिडिया भन्छः चीन र पाकिस्तानको षडयन्त्र
विदेशमा गएर भारतले नाकाबन्दी नगरेको भन्दै टिप्पणी गरेका सञ्चार मन्त्री मिनेन्द्र रिजालको मन्त्रालयले नेपाली केवल वितरकहरुले हिन्दी च्यानलमाथि लगाएको प्रतिबन्धमाथि हस्तक्षेप गरेको छ ।
मन्त्री मिनेन्द्र रिजाल नेपाल फर्के लगत्तै सञ्चार मन्त्रालयले केवल वितरकहरुलाई स्पष्टीकरण सोध्दै भारतीय च्यानल बन्द गर्ने चित्त बुझ्दो कारण नदिए कारवाही गर्ने सम्मको चेतावनी दिएपछि जनस्तरमा मा होइन नेताहरुले समेत आपत्ती जनाएका छन् ।
एमाले महासचिव इश्वर पोखरेलले मन्त्री रिजालको कदमप्रति गम्भिर असहमति जनाउँदै धिक्कार भनेका छन् । उनले फेसबुकमा लेखेका छन् – कतारमा एउटा “रमाइलो कार्यक्रम” मा गएका नेपालका संचारमन्त्री काठमाण्डौंस्थित भारतीय राजदूतकै भाषामा नेपालमा भारतले नाकावन्दी गरेकै छैन भन्दै थिए ! अहिले नेपाल आउने वित्तिकै “केवल टि वि च्यानल” वालाहरूलाई हिन्दी च्यानल वन्द गरेर भारतलाई नाकावन्दी नगर्न चौविस घण्टे स्पष्टीकरणको धम्की पो दिएछन् !! सेवा प्रदान गर्ने सम्वन्धमा यी नेपाली मन्त्रीजीको कस्तो तत्परता !! धिक्कार होस् !!’
भारतले गरको अघोषित नाकाबन्दीले नेपाली जनजीवन आक्रान्त छ । यसको प्रतिरोध सरकारले त गरेको छैन तर जनस्तरबाट सुरु भएको छ । यही क्रममा भारतीय च्यानलहरुको प्रसारण रोक्ने अभियान सुरु भयो । परिणामस्मंवरूप मंगलबार १० बजेदेखि नेपालमा भारतीय टेलिभिजन च्यानल बन्द छन् ।
सरकारले भने जनस्तरको विरोधमा गरिएको विरोधलाई पनि असफल पार्न खोजिरहेको छ ।


