साढे ६ बर्षदेखि कतारमा कोमामा रहेका श्रीमानलाई भेट्न पुगेकी श्रीमति ....
दोहा, असोज ५- परेला चल्छन् ओठ चल्दैनन् मैले बोलेको उहाँले सुन्नु हुन्न, उहाँ बोलेको सुन्न चाहन्छु तर उहाँ बोल्नै सक्नुहुन्न । गाउँमा २ लालाबाला छोडेर श्रीमानको अवस्था हेर्न कतार आएकी पार्वती सुवेदीले आँखाबाट झर्दै गरेको बलिन्द्र आँसु एकहातले सलवारको सप्कोले पुछ्दै र अर्को हातले विगत साढे ६ बर्ष देखि कोमामा रहेका श्रीमान् विष्णु बहादुरको ओठ मुसार्दै बोलेको वाक्य हो यो ।
बाग्लुङ जिल्ला नारायणस्थान गाविस वडा नं. ९ निवासी ३९ बर्षीय विष्णु बहादुर सुवेदी बैदेशिक रोजगारको सिलसिलामा कतार आउँदा १८ मार्च २००९ मा ठूलो गाडी दुर्घटनामा परी बन्द भएका उनका आँखाका परेली ६ बर्ष बितिसक्दा पनि खुल्न सकेको छैन ।
अति विपन्न पहाडी जिल्ला बाग्लुङमा रहँदै बस्दै आएका बिष्णु बहादुर सुवेदीले बेरोजगारीको मारले आजित भएर विपन्नतालाई जित्ने सपना बोकेर आफ्नो जीवन संगीनी पार्वतीलाई २ छोरा स्याहारसुसार गर्ने जिम्मा दिएर कतार आएका थिए ।
तर पार्वतीको ओठको खुशी हरण भएको छ । सुवेदी इन्तु न चिन्तु भएको साढे ६ बर्ष भइसक्यो । तै पनि कुनै न कुनै दिन अस्पतालको बेडमा सुतिरहेका उनका श्रीमान् जुरुक्क उठ्न सक्छन् भन्ने झिनो विश्वाश लिएर समय समयमा अस्पतालमा श्रीमान्लाई भेट्न उनी आइरहन्छिन् ।
हमाद अस्पतालमा श्रीमानको अवस्था बुझ्न गएकी पार्वतीले विरसिलो आवाजमा भनिन्, दैवले मेरो भाग्यमा मनपरी लेखेका रहेछन् र आज यो दुःखको बोझ मेरो र नावालक दुई छोराहरुको थाप्लोमा बोकेर हिँड्नु परेको छ ।
छोरा मात्र पढाउन सक्ने पनि आफ्नो हुति र आम्दानीको कुनै बाटो छैन । भएका २ छोराहरु उतै जिम्मा लगाएर यता आएकी छु । सास छउञ्जेल आस भन्छन् । कसैको सहारामा अस्पताल आउँछु, श्रीमानको जति बेलापनि बन्द भएका ओठ र आँखा हेर्छु । कुनै कुनै बेला यसो ओठ चल्दा अब त बोल्नु हुन्छ कि जस्तो लाग्छ र निधार छामेर मुसारीदिन्छु । उहाँको स्वास्थ्यमा कुनै प्रगति नदेखेपछि आफ्नै ज्यानले गति छोडेर आफ्नै ज्यान धान्न नसकेर भाउन्न हुन्छ । उहाँलाई छोडेर कोठमा पुगेपछि नेपालमा भएका २ छोरा र अस्पतालको बेडमा सुतिरहनुभएको श्रीमानको अवस्था सम्झेर डाँको छोडेर रुन मन लाग्छ । फेरि गाउँमा भएका छोराहरु सम्झिन्छु र तिनै छोरामा उहाँको रुप सम्झेर यो जुनीको मेरो कर्म यस्तै रहेछ भनेर चित्त बुझाएर बस्छु ।
बाग्लुङमा भएका हुर्कौला छोराहरु दुवैले ठूलो आशा लिएर आफ्नी आमा पार्वतीको अनुहारमा बाउ खोजेको बुझेर नै होला शायद पार्वतीले काली गंगाको भेललाई साथ लिने गलत आँट गरिनन् । राम र लक्ष्मण जस्ता छोराकै लागि बाँच्न उनी बाध्य भएकी छिन् । तिनै २ छोराको भविष्य निर्माण गरेर उनको पौरखमा आफुले भविष्य र आधार खोज्ने लक्ष्य लिएर आजसम्म बाँचीरहेकी छिन् पार्वती ।
पार्वतीलाई यति बेला श्रीमानको चीर अस्वस्थताको पिरलो र अरुकै जिम्मामा छोडेर आएका छोराहरुको अवस्थाले थप अरु चिन्ता थपिदिएको छ । छोरालाई पढाएर ठूलो बनाउने उनको भीष्म साहस मनमा भएपनि आर्थिक अभावले उनी कोकोहोलो मच्चाएर रुन मात्र सकेकी छैनन् । श्रीमानको यो हालत छ । छोराहरुलाई पढाउने जिम्मा मेरै थाप्लोमा आएको छ । छोराहरुलाई अब झन् मैले कसै गरी पनि पढाउनुपर्छ भन्ने सोचेकी छु । तर आर्थिक अभावको कारणले समस्या परेको छ । मसँग उनीहरुलाई पढाउने सामथ्र्य छैन । यस्तो अवस्थामा मलाई कसैले सहयोग गरिदिनुभए उनीहरुको भविष्य राम्रो बन्ने आशा लिएकी छु ।
हमाद अस्पतालको अति सघन कक्षमा राखिएको उनको श्रीमानलाई भेट्न आउँदा उनले ठूलो आशाको साथ विन्ती गरिन् । दुई नावालक छोराको खुशी र मेरो भाग्यमा जथाभावी लेखिदिएर यो गति बनाएपनि छोराहरु क्याम्पस तहसम्म पढेर आफ्नो खुट्टामा उभिएको हेर्न चाहेको भन्दै उनले पटक पटक भगवान पुकारिन् ।
कोहि होला त उनका दुई छोरालाई पढाईदिने ?