चिनियाँ सेनाले भारतलार्इ भन्यो-सीमानामा गडबडी नगर

बार बेइजिङमा पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ सेनाका प्रवक्ता वु । तस्बिर : एजेन्सी
एजेन्सी : चिनियाँ सेनाले दुबै देशको सीमाक्षेत्रमा गडबडी नगर्न भारतलार्इ चेतावनी दिएको छ ।



विवादास्पद भूमि लद्दाखस्थित सीमानामा आफूले राखेका सीसी क्यामेरासहितका अस्थायी संरचना भारतीय सेनाले हटाइएदिएपछि चिनियाँ सेनाले सीमामा गडबडी नगर्न भारतलार्इ चेतावनी दिएको हो ।

लद्दाख क्षेत्रमा चीनले बनाएका अस्थायी ढाँचाका संरचना भारतीय सेनाका जवानले केही दिनअघि हटाइदिएपछि चीनले बिहीबार त्यसबारेमा कडा प्रतिक्रिया दिएको हो ।

चीनको सेनाले भारतीय सेनालार्इ सीमावर्ती इलाका स्थिरता र शान्ति खलबलिने कुनै पनि किसिमको 'एकतर्फी कारबाही' नगर्न भनेको हो ।

चिनियाँ सेनाले भारतको एकतर्फी कारबाहीका कारण युद्धको अवस्था निम्तने भन्दै त्यस्ता कार्य कुनै हालतमा नगर्न चेतावनी दिएको हो ।

चीनको रक्षा मन्त्रालयका प्रवक्ता कर्णेल वु कियानले भने, 'भारतीय सेनाले सीमानामा रहेका हाम्रा भौतिक संरचना भत्काइदिने काम दुबै पक्षबीचको समझौता र सहमतिको भावना भन्दा प्रतिकुल रहेको छ ।'

लद्दाखको बर्तसे इलाकामा भारतीय सेनाले चिनियाँ सेनाबाट निर्मित क्यामेराजडित अस्थायी संरचना भत्काइदिएपछि चीनको रक्षा मन्त्रालयका प्रवक्ता वु कियानले त्यसबारे चीनको तर्फबाट पहिलो र कडा प्रतिक्रिया दिएका हुन् ।

चिनियाँ जनमुक्ति सेनाको प्रवक्ताको जिम्मेवारी हालै सम्हालेका युले दुबै देशका सरकारले गरेको सहमति अनुसार सीमाक्षेत्रमा शान्ति कायम गर्नु दुबै देशका सेनाको दायित्व रहेको उल्लेख गरे ।

'भारत-चीन सीमामा संयुक्तरूपमा शान्ति र सौहार्द कायम राख्ने एक अहम सहमति हो', उनले भनेका छन् 'जो दुबै देशको नेतृत्वबीच बनेको छ। जसलार्इ दुबै देशका सरकार र सेनाले पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।'

उले भारतीय सेनालार्इ लक्षित गर्दै इमान्दारीपूर्वक दुबै देशले गरेको सहमति पालना गर्न पनि आग्रह गरे ।

'दुबै देशबीच भएको सहमतिको इमान्दारपूर्वक भारतीय सेनाले पालना गरोस', उनले भनेका छन्, 'त्यो सहमति तोड्ने कुनै पनि किसिमको एकतर्फी कारबाही भारतीय पक्षबाट नहोस् ।'

सीमावर्ती इलाकाको अहिलेको शान्ति सु-व्यवस्था खलबलिन नदिन दुबै देशको दायित्व रहेको चिनियाँ सेनाले सम्झाएको छ ।

'दुबै देशका सेना चीन-भारत सीमावर्ती इलाकामा संयुक्तरूपमा शान्ति र स्थिरता कायम राख्नका लागि मिलेर काम गर्नु जरुरी छ', प्रवक्ता वुले भनेका छन्, 'जसले गर्दा सीमानामा तनाव बढ्ने गतिविधि रोक्न सकियोस ।'

प्रतिक्रिया दिनुहोस