आज राति सवा १० बजे फेसबूक लाइभ च्याटमा आउँदैछन् नरेन्द्र मोदी, नाकाबन्दीबारे प्रश्‍नको ओइरो

काठमाडौं, १० असोज– अमेरिकामा भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज राति फेसबुक लाइभ च्याटमा आउने भएका छन् ।


फेसबूक लाइभ च्याटमा आउन लागेका मोदीलाई सबैले प्रश्न गर्न सक्नेछन् । नयाँ संविधान बनेर खुसीयाली मनाइरहेका बेला भारतले नेपालमा नाकाबन्दी लगाएको विषयमा धेरै नेपाली फेसबुक प्रयोगकर्ताले प्रश्न गरेका छन् ।

नेपाललाई माया गर्ने संसारभरका फेसबुक प्रयोगकर्ताले मोदीसँग प्रश्‍न राखिरहेका छन्। नाकाबन्दीले नेपाल अस्तव्यस्त भइरहेका बेला मोदी आइतबार विश्वमै सबैभन्दा धेरै मानिसले प्रयोग गर्ने सामाजिक सञ्जाल फेसबुकको अमेरिकास्थित हेड क्वार्टरमा पुग्दैछन् ।

मोदीले फेसबुकको हेड क्वार्टर भ्रमण गर्ने जानकारी त्यसका मालिक मार्क जुकरबर्गले जानकारी दिइसकेका छन् । आफूले गत वर्ष भारत भ्रमणमा जाँदा मोदीलाई भेटेको जनाउँदै जुकरबर्ग यो पटक मोदीलाई आफ्नो कार्यालयमा स्वागत गर्न पाउनु खुसीको कुरा भएको प्रतिक्रिया दिएका छन् ।

जुकरबर्गले फेसबुकमा पोस्ट् गरेको स्टाटसमा आइतबारै मोदीले उनका फेसबूकमा आवद्धहरुसँग लाइभ च्याट गर्ने छन् ।  मोदीले जुकरबर्गसँगै रहेर प्यासिफिक समय अनुसार बिहान साढे नौ बजे (नेपाली समयअनुसार राति सवा १० बजे) बाट लाइभ च्याट शुरु गर्नेछन् ।

जुकरबर्गले प्रश्न सोध्नका लागि आफ्नो स्टाटसमा कमेन्ट गर्न अपिल गर्दै मोदीले ती प्रश्नको जबाफ लाइभ च्याटमार्फत दिने जनाएका छन् ।  मोदीले लाइभ च्याटबाट जबाफ दिने भएपछि नेपालबाट समेत अहिलेको नाकाबन्दीबारे फेसबुकका सयौं नेपाली प्रयोगकर्ताले प्रश्नको ओइरो नै लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस