छेकम्पार नाका बाह्रै महिना खुलाउन चीन सहमत -

दक्षिणी छिमेक भारतबाट नाकाबन्दी भई इन्धन र खाद्य सामग्रीको अभाव चुलिँदै गएको बेला अर्को छिमेक चीनले उत्तरी गोरखास्थित छेकम्पार नाका वर्षभर खुलाउने निर्णय गरेको छ ।
तिब्बतको परराष्ट्र कार्यालयले तिब्बत–छेकम्पार नाका बाह्रै महिना सञ्चालनमा ल्याउने निर्णय गर्दै नेपालको वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयमा पत्राचार गरिसकेको छ । छेकम्पारबाट नजिकका तिब्बती बजार स्या र जोङ हुन् ।

नोर्बुलिङ्का–१३ ल्हासा, तिब्बतका वाणिज्यदूत पुरुषोत्तम ढुङ्गेलले हस्ताक्षर गरी नेपालस्थित परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयमा पठाएको पत्रमा ‘चीनको तिब्बत स्वशासित क्षेत्रसँग सिमाना जोडिएको गोरखा जिल्लाको छेकम्पार नाका वषैँभरि खोल्न चीन सहमत भएको’ उल्लेख छ ।
यसअघि छेकम्पारस्थित नाका चीनले वर्षको एक पटक साउन महिनाभर मात्रै सञ्चालन गर्दै आएको थियो । गोरखाको बारपाक केन्द्रबिन्दू रहेर गत वैशाख १२ मा विनाशकारी भूकम्प गएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले पटक–पटक नाका खुलाउन प्रयास गरेको थियो ।
वर्षभर नाका खुल्ने निर्णयसहितको पत्र जिल्ला प्रशासन कार्यालयमा पनि आएको जानकारी दिँदै गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले यो कदमले उत्तरी गोरखाका स्थानीयवासीको जीवनयापन थप सहज हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस