भारत रिसाउनुको कारण यस्तो रहेछ, नेपाली राजदूतको बयान -
काठमाडौं, ५ असोज । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतलाई नेपालमा राम्रोसँग व्यवहार र स्वागत नगरेकाले यस्तो अवस्था आएको संकेत गर्नुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आज (मंगलबार) बिहान कुरा गर्दै राजदूत उपाध्यायले नरेन्द्र मोदीका विशेष दूतसँग नेपालमा भएको नेताहरूको व्यवहारले पछिल्ला राजनीतिक घटना हुन पुगेको बताउनुभएको हो । ‘एस जयशंकर भारतीय विदेश सचिव मात्रै होइनन्’, नेपाली राजदूत उपाध्यायले भन्नुभयो, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत पनि हुन् । त्यसतर्फ अलिकति ध्यान दिइएन । यस विषयमा मैले बुझ्ने कोशिष गर्दैछु ।’
‘विशेष दूतको अन्तिम बेलाको भ्रमण थियो’, उहाँले भन्नुभयो, ‘संविधान आउने बेला थियो । भारतले भनेको मान्ने अवस्था पनि थिएन । समय धरै अगाडि बढी सकेको थियो । केही समय रोकेर गएको भए पनि हुने थियो ।’
नेपाली राजदूत उपाध्यायले भारतको समर्थन बढाउनका लागि आफूले पहल गर्ने र गरिरहेको बताउनुभयो । भारतीय पक्षसँग आफू सम्पर्कमा रहेको तथा नेपालका विषयमा छलफल गरिरहेको उहाँको भनाइ छ ।नेपालका लागि भारतीय राजदूत रञ्जित रेसँग पनि नयाँदिल्लीमा सम्पर्क भएको उपाध्यायले बताउनुभयो । ‘राजदूत रञ्जित रे नेपालको पछिल्लो परिस्थितिबाट चिन्तित हुनुहुन्छ’, उहाँले भन्नुभयो ।
वार्ता र सम्वादबाट मधेसमा आन्दोलनरत समूहसँग निकास निकाल्नु पर्ने बताउनुभएका राजदूत उपाध्यायले भन्नुभयो, ‘वार्ता पनि कसले गरिदेओस् ? अझै पनि समय छ । वार्ता गरेर माग सम्बोधन गर्नुपर्छ ।’
विहारमा हुँदै गरेको चुनावका कराण पनि मधेसको आन्दोलनबाट भारतीय पक्ष चिन्तित रहेको राजदूत उपाध्यायको भनाइ छ । सिमानामा हुने आन्दोलन र हिंसाले आफ्नो मुलुक तथा निर्वाचनलाई पर्न सक्ने सुरक्षा खतराले भारतले असन्तुष्टि जनाएको उपाध्यायले उल्लेख गर्नुभयो ।
‘सिमानाका बन्द गर्ने ठाउँसम्म पुग्दैन, पुग्न दिनु हुँदैन’, उहाँले भन्नुभयो, ‘बाह्र बुँदेदेखि सहयोग गरेको छ । भारतले अभिभावकत्व लिनुपर्छ । त्यसपछि लाभैलाभ छ । नेपालको कुनै पनि समस्याको असर पर्ने कहाँ हो ? त्यो पनि बुझ्न जरुरी छ ।’
भारतका लागि नेपाली राजदूत उपाध्यायले राष्ट्रवादको नाममा नकारात्मक कुरा गर्नु नहुने बताउनुभएको छ । ‘भारतलाई गाली गर्नु हुँदैन’, उपाध्यायले भन्नुभयो, ‘वार्ता कसले गरिदिने ? कसले गराई दिने ? भारतसँग नेपालबाट के अपेक्षा भनेर सोध्ने छु । भारतको इच्छा बुझ्ने छु । मिलाउन यता पनि उता पनि पहल गर्नेछु ।’