भारतले नाकाबन्दी गरेको छैनः भारतीय नेताहरु

६ असोज, काठमाडौं ।

भारतले गरेको नाकाबन्दीको कारण देशको जनजीवन अस्तव्यस्त भएको बेला भारतीय नेताहरुले नेपालमा नाकाबन्दी नरहेको झुट्टो प्रचार गरेका छन् ।


भारतका प्रभावशाली नेताहरुले नेपालमा भारत विरोधी गतिविधी बढ्नु कसैको पनि हितमा नभएको भन्दै चिन्ता ब्यक्त गरेका छन । नयाँ दिल्लीमा रिपोर्टर्स क्लबद्धारा आयोजित साक्षात्कार कार्यक्रममा भारतीय जनता पार्टीका बरिष्ठ नेता भगतसिंह कोसियारीले नेपालमा भारत विरोधी गतिविधी हुन दिन नहुने भन्दै यसले कसैको हित नगर्ने स्पष्ट पारे ।

फाइल तस्बिर
उनले भने–भारतले कुनै नाकाबन्दी गरेको छैन । त्यसको बहानामा कुनै पनि भारत विरोधी गतिविधी नगर्नुस । भारतले नेपालको नाकासम्म सामान भरिएका ट्रकहरु पठाएको छ । उतैको कारणले सामान नगएको हो । सम्बन्ध विगर्नेहरुले बुझ्नु पर्छ यसले हित गर्दैन ।

कोसियारीले नेपालमा बनेको संविधानलाई ‘ नहुनु मामा भन्दा कानो मामा नै जाती’ को संज्ञा दिदै आफूहरुले सबैलाई स्विकार्य हुने संविधान बनाए मात्रै नेपालमा दिगो शान्ति र समृद्धि हुने सद्भाव ब्यक्त गरेको दावी गरे ।

उनले भने–नेपालका राजनीतिक दलहरुले संविधान संसोधनको लागि छलफल र बार्ता गरिरहेका छन । मलाई विश्वास छ, छिटै नेपालको अवस्था सामान्य हुन्छ ।
कोसियारीले सहमतिको सरकार गठनकोलागि प्रधानमन्त्री सुशील कोइरालाको आग्रह बमोजिम राष्ट्रपति डा. रामबरण यादवले गरेको आब्हानलाई सकारात्मक भन्दै त्यो प्रयास सकारात्मक भएकोले त्यसमा आफूहरुको समर्थन रहेको बताए ।

तर उनले नेपालमा सरकार कस्को नेतृत्वमा बनाउने र कस्तो सरकार बन्ने भन्ने कुरा नेपालका राजनीतिक दलहरुको भएकोले त्यसमा आफूहरुको कुनै चासो नभएको स्पष्ट पारे ।

काग्रेस आईका बरिष्ठ नेता डा. करण सिंहले नेपालमा सबै नेपाली जनता नै खुसी हुन सक्ने संविधान नबनेको अवस्थामा भारत खुसी हुने भन्ने प्रश्नै नआउने स्पष्ट पार्दै नेपालको संविधानमा सबैका भावना समेटिएर सर्व स्विकार्य संविधान बन्नु पर्नेमा जोड दिए ।

उनले नेपालको अवस्थालाई आफूहरुले नजिकबाट हेरिरहेको उल्लेख गर्दै भने–नेपालको पछिल्लो समस्या समाधान हुनु पर्छ । नेपालका राजनीतिक दलहरुले बार्ता र संबादबाट समस्यामो छिटो समाधान गर्नु पर्छ । सबैले मेरो भन्ने संविधान बन्नु पर्छ ।

नेपालमा बढेको भारत विरोधी गतिविधीले आफूहरुलाई चिन्तित बनाएको भन्दै सिंहले नेपालमा भारत विरोधी गतिविधिको अन्त्य हुनु पर्ने धारणा राखे । उनले भने–नेपाल र भारतवीच अरु कसैसँग नभएको बहुआयामिक सम्बन्ध छ । दुई देशवीच रहेको असमझदारी हट्नु पर्छ ।

डा. सिंहले नेपालमा भारतले नाकाबन्दी गरेको भए त्यो हट्नु पर्ने र त्यसकालागि भारत सरकारसँग आफुहरु कुरा गर्न तयार रहेको भन्दै नेपालका राजनीतिक दलहरु राष्ट्रिय सहमतिका साथ अघि बढ्दा भारतको सधै सहयोग हुने बताए । उनले भने–नेपालका राजनीतिक दलहरु मिल्नुको विकल्प छैन । नेपालले अझै धेरै द्धन्द थेग्न सक्दैन ।

नेपालमा चीनसंग नाका खोल्न घनिभुत पहलसंगै भारतिय रणनीति फेरिएर आएको आशंका गर्न थालिएको छ।

प्रतिक्रिया दिनुहोस