चीनसँग आज निर्णायक वार्ता

चीनसँग व्यापारिक रुपमा इन्धन आपूर्तिसम्बन्धी सम्झौता गर्न बेइजिङ पुगेको नेपाली टोलीले भेटवार्ता सुरु गरेको छ। मंगलबार बिहान बेइजिङ पुगेको टोलीले दिउँसो चीनको विदेश मन्त्रालयका अधिकारीसँग भेटवार्ता गरेको छ। बुधबार निर्णायक वार्ता हुने टोली सदस्यले जनाएका छन्।


भारतको नाकाबन्दीले इन्धन संकट गहिरिएपछि वैकल्पिक उपाय खोज्ने क्रममा सरकारले चीनका लागि नेपाली राजदूत महेश मास्केको नेतृत्वमा सोमबार आठ सदस्यीय प्रतिनिधिमण्डल बेइजिङ पठाएको हो। काठमाडौंबाट बैंकक हुँदै मंगलबार बिहान बेइजिङ पुगेको टोलीले दिउँसो चीनको विदेश मन्त्रालयका अधिकारीसँग नेपालको अहिलेको इन्धन संकट टार्न चीनबाट हुनसक्ने आपूर्ति व्यवस्थाबारे छलफल गरेको थियो।


नेपाली प्रतिनिधिमण्डलका एक सदस्यका अनुसार विदेश मन्त्रालयमा भएको प्रारम्भिक छलफललाई निरन्तरता दिँदै बुधबार बिहान चीनको वाणिज्य मन्त्रालय र दिउँसो चाइना नेसनल पेट्रोलियम कर्पोरेसनसँग विस्तृत छलफल गर्ने कार्यक्रम छ।

विदेश मन्त्रालयमा भएको प्रारम्भिक छलफल उत्साहजनक रहेको बताउँदै टोली सदस्यले बेइजिङबाट फोनमा भने, ‘बुधबार निर्णायक छलफल हुन्छ र सम्भवतः साँझसम्म चीनबाट इन्धन आयात गर्नेबारे सम्झौता हुनसक्छ।’

नेपालले इन्धन आयातमा भारतको एकाधिकार तोड्दै चीनसँग पहिलोपटक व्यापारिक रुपमा आपूर्ति गर्ने तयारी गरेको हो। नेपाली टोलीले चीनको विदेश र वाणिज्य मन्त्रालय तथा पेट्रो–चाइनासँग आपूर्ति गर्न सक्ने इन्धनको परिमाण, मूल्य, रुट र समयबारे विस्तृत छलफल गरी सम्झौता गर्न सक्नेछ।

बेइजिङमा भइरहेको नेपाल–चीन इन्धन वार्तामा नेपालबाट गएको आठ सदस्यीय प्रतिनिधिमण्डल र बेइजिङस्थित दूतावासका अधिकारी सहभागी भएका छन्।

राजदूत मास्केले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा परराष्ट्र, वाणिज्य, अर्थ र कानुन मन्त्रालयका सहसचिव तथा नेपाल आयल निगम र गुणस्तर तथा नापतौल विभागका अधिकारी छन्। आजको नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस