चर्चित ज्योतिष भन्छन्- नेपालका खराब दिन सकिए, २०७३ असाध्यै राम्रो !
११ कात्तिक, काठमाडौं । सरकारको सल्लाहकार समेत रहेका एक चर्चित ज्योतिषले अब नेपालको खराब समय ओरालो लागेको बताएका छन् । संस्कृति मन्त्रालयअन्तरगतको पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले कात्तिक १ बाट नै नेपाल देशका असल दिन सुरु भएको दावी गरे । नेपालदेश डटकमसँग कुराकानी गर्दै ढुङ्गेलले २०७२ सालको पूर्वाद्र्ध नेपालका लागि अत्यन्त खराब रहेको र उत्तराद्र्ध भने केही राम्रो रहेको बताए । अर्थात् २०७२ को अघिल्लो छ महिना धेरै खराब रहेपछि पछिल्लो ६ महिना क्रमशः राम्रो हुँदै जाने ठोकुवा उनले गरे ।
सूर्य पञ्चाङ्गका निर्माता समेत रहेको ढुङ्गेलले पञ्चाङग पात्रो हातमा लिएर देखाउँदै भने- ‘यो कुरा मैले पहिले नै यो पात्रोमा पनि उल्लेख गरेको छु ।’ २०७२ सालमा नेपालको ग्रहदशाअन्तर्गत राजा र मन्त्री दुवै अत्यन्त पीडादायक रहेकोले भूकम्प र नाकाबन्दी जस्ता पीडा झेल्नुपरेको दावी उनले गरे ।
‘पहिले नै भूकम्प आउँछ भनेर किन नभनेको त ?’ भन्ने प्रश्नमा उनले भने- ‘भूकम्प नै आउँछ भनेर हामीले भन्न सक्दैनौं तर २०७२ सालको सुरुमा नेपालमा भयंकर प्राकृतिक विपत्ति आउने कुरा चाहिँ प्रष्टै देखिएको थियो । त्यो प्राकृतिक विपत्ति भूकम्पका रुपमा आएको हो ।’
२०७२ सालको अघिल्लो ६ महिना अत्यन्त कष्टकर भए पनि पछिल्लो ६ महिना क्रमशः राम्रो हुँदै जाने बताउँदै उनले कात्तिकबाट नै नेपालका राम्रा ग्रह सुरु भएको उनले दोहोर्ए । २०७२ सालको पूर्वाद्र्ध नेपालका लागि मध्य साढेसाती रहेकोले पनि बढी पीडादायक भएको उनले बताए ।
२०७३ साल भने नेपालका लागि अत्यन्त राम्रो रहेको ठोकुवा समेत उनले गरे । ‘२०७३ सालमा नेपालको ग्रहदशाअन्तर्गत राजा र मन्त्री दुवै असल छन् ।’ आफ्नो भविष्यवाणी लेखेर राख्न आग्रह गर्दै उनले भने- ‘ग्रहका राजा र मन्त्री दुवै असल हुने भएपछि देशका लागि पनि अत्यन्त राम्रो परिणाम आउँछ ।’

