भारतको रुचिमा कांग्रेस : मेहता

नेपालको राजनीतिलाई नजिकबाट हेरेका भारतीय सेनाका पूर्वजनरल अशोक मेहताको विश्लेषणमा ओलीलाई रोक्ने अवस्था छैन, तर यो भारतको रुचि होइन । ‘भारतको रुचि कांग्रेससहितको लोकतान्त्रिक गठबन्धन हो, तर आफ्नो अनुकूलताबेगरको उम्मेदवार हुँदाहुँदै पनि ओलीले जितेको अवस्थामा भारतले ओलीलाई बधाई दिनेछ र संविधान संशोधनका लागि आग्रह गर्नेछ,’ मेहताले शनिबार दिल्लीबाट भने ।
कोइराला प्रधानमन्त्री भएमा उसले भनेजस्तो संविधान संशोधन सहज हुने भारतको बुझाइ छ र त्यसमा मधेसकेन्द्रित पार्टीहरू पनि संलग्न हुनसक्ने उसको विश्लेषण छ । भारतको सोचाइ अहिले पनि कांग्रेस, एमाओवादी, मधेसी र साना दलको गठबन्धन हो, जसको नेतृत्व कांग्रेसले गरोस् । भारत सरकार निकटस्थहरूको बुझाइमा ओली नेतृत्वमा सरकार गठन भए संविधान संशोधन भारतले भनेअनुसार नहुन सक्छ ।
पूर्वजनरल मेहताको विश्लेषणमा विगतको समीक्षाका आधारमा भारतका लागि कांग्रेस कम्युनिस्टभन्दा सहज छ । ‘भारतका लागि वामपन्थी सरकारहरूको तुलनामा कांग्रेस नेतृत्वको प्रजातान्त्रिक गठबन्धन सहज हुन्छ, विगतले यही बताउँदै आएको छ,’ मेहताले टेलिफोनमा भने, ‘केपी ओलीसँग काम गर्न भारतलाई गाह्रो छ । उनीहरूले भारतलाई हेर्ने के नीति तय गर्छन्, मूलत: त्यो आइसकेपछि थप टिप्पणी गर्न सकिएला ।’ तर, वामपन्थी गठबन्धन सत्तामा आए पनि उनीहरूले मधेसको मुद्दालाई बेवास्ता गर्न नसक्ने मेहताको तर्क छ । आजको नयाँ पत्रिकामा खबर छ ।