महराले सभामुख अस्वीकार गरे, पार्टी भित्रैबाटै महराविरुद्ध षडयन्त्र

काठमाडौं ।

एमाओवादीका महासचिव कृष्णबहादुर महराले सभामुख पदमा बस्नका लागि प्रचण्डले राखेको प्रस्ताव अस्वीकार गरेका छन् ।

प्रचण्डको अर्को ‘बोल्ड डिसिजन’


पार्टीमा बाबुराम पक्षीय नेताको चित्त बुझाउन कठिन हुने देखेपछि प्रचण्डले महरालाई सभामुख पद लिन आग्रह गरेका थिए । तर महराले भने आफू सभामुख जस्तो निस्क्रिय पदमा बसेर काम गर्न इच्छुक नरहेको भन्दै पार्टीबाट सरकारमा नेतृत्व गर्ने गरी उपप्रधान तथा गृहमा जाने इच्छा प्रकट गरेका छन् ।


महरा निकट उच्चश्रोतले हेडलाइन्सलाई दिएको जानकारी अनुसार महरालाई गृहमन्त्रीमा जानबाट रोक्नका लागि पार्टीभित्रै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र वर्षमान पुनले लविङ गरिरहेका छन् । महरालाई गृहमन्त्री दिँदा बाबुराम पक्ष भड्किने भन्नेकुरालाई नारा बनाएर उनलाई रोक्न खोजिएपनि पार्टीभित्र र बाहिर भने महरा नै गृहमन्त्रीका उत्तम उम्मेदवार रहेको भनेर उनलाई नै पार्टीको तर्फबाट सरकारमा नेतृत्व गर्न दिनु पर्ने तर्क भैरहेको छ ।

संविधान र सहमतिका लागि प्रचण्डको दृढता प्रशंसनीय- चित्रबहादुर केसी

यस अघि नै उपप्रधान तथा गृहमन्त्री भैसकेका महरालाई हाल सम्मकै सक्षम र सफल गृहमन्त्री बनेर प्रशंसा गर्नेहरु धेरैछन् । तर पार्टी भित्रैबाट भने उनीविरुद्ध षडयन्त्र भैरहेको प्रचण्ड निकट एक नेताले जानकारी दिए । अध्यक्ष प्रचण्ड पनि महराकै नेतृत्वमा सरकारमा सामेल हुने पक्षमा रहेपनि पार्टी भित्रको दवावका कारण धर्मसंकटमा परेको उनको भनाइ छ ।

Mahara 3

महरालाई नपठाएर बाबुराम निकट मानिने टोपबहादुर रायमाझीलाई सरकारमा पार्टीको नेतृत्व गरेर पठाउनु पर्ने भन्दै वर्षमान पुन लगायतका नेताहरु महराको विरुद्धमा लागेपछि प्रचण्डलाई निर्णय गर्न कठिन भएको बताइएको छ । त्यसैकारण प्रचण्डले महरालाई सभामुख स्वीकार गर्न भने पनि महराले भने त्यसलाई अस्वीकार गरिदिएका छन् । महरापक्षीय नेता तथा कार्यकर्ताहरुले पार्टीको शाख जोगाउन र सरकारमा प्रभावकारी उपस्थितिका लागि महराको विकल्प नभएको भन्दै अध्यक्ष प्रचण्डलाई महराको नेतृत्वमा सरकारमा पठाउनु पर्ने दवाव दिएका छन् ।

ओलीलाई छोड्न कोइरालाको अन्तिम अफर प्रचण्डले अस्वीकार गरे

महरा अध्यक्ष प्रचण्डका सबैभन्दा विश्वाशपात्र र पाका नेता मानिन्छन् । कतिपयले महरालाई प्रचण्डका एकमात्र उत्तराधिकारी समेत भन्ने गरेका छन् । कम बोल्ने र दिएको जिम्मेवारी पुरा गर्ने नेताकोरुपमा रहेका महरालाई सरकारमा पार्टीको नेतृत्व गरेर पठाउनबाट अध्यक्ष प्रचण्डलाई रोक्नका लागि भारतीय लविमा रहेका केही नेता समेत सक्रिय रहेको भित्री श्रोतले बताएको । महरालाई गृहमन्त्री बन्न नदिनका लागि अहिले लागिपरेका एक नेताले केही दिन अघि मात्र र्‍याडिसन होटलमा भारतीय गुप्तचर संस्था रअ का पूर्वप्रमुखसँग भेटवार्ता समेत गरेको उक्त श्रोतको भनाइ छ ।

यस अघि पार्टीमा हेटौंडा महाधिवेशनबाटै महासचिव बन्ने समयमा पनि महरा पार्टीभित्रैबाट षडयन्त्रको शिकार भएको एमाओवादी नेताहरु बताउँछन् । महाधिवेशनस्थलमै महराको पक्षमा महासचिव बनाउनका लागि प्रतिनिधीहरुले नारा लगाएपनि उनीविरुद्ध लविङ भएपछि महासचिवको पदमा स्वर्गीय पोष्टबहादुर बोगटीलाई राखेर प्रचण्डले महाधिवेशन टुङ्ग्याएका थिए । पछि मात्र महराले महासचिवको जिम्मेवारी पाएका थिए ।

महरालाई महासचिव पदमा जानबाट रोक्नका लागि प्रयास गरेका भनिएका वर्षमान पुन कहिले बाबुराम त कहिले प्रचण्डको गुटमा रहेर पदीय लाभ लिन खप्पिस नेता मानिन्छन् । अहिले महरालाई गृहमन्त्रीमा जानबाट रोक्न उनी पनि खुलेरै लागेको श्रोतले बताएको छ ।

महरालाई प्रस्ताव गरिएको सभामुख पदमा समेत वर्षमान पुनले उपसभामुख रहेकी आफ्नी पत्नि ओनसरी घर्तीलाई उम्मेदवार बनाउनु पर्ने भनेर लाजिम्पाटमा झगडा गरेको बैठकमा सहभागी एक नेताले बताए । तर उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने सभामुखका लागि गिरीराज मणि पोखरेलको नाम अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस