.ग्यास र तेल बाेकेको बस पल्टिएर आगलागी हुँदा ६ को मृत्यु, १७ यात्रु सम्पर्कविहीन...
दाङ— दाङसँग सीमा जोडिएको बाँकेको खास कुश्मामा यात्रु बाहक बस पल्टिएर आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ। ग्यास सिलिण्डर र पेट्रोलियम पदार्थ बोकेको उक्त बसमा दुर्घटनापछि आगलागी भएको थियो।
बाँकेको खासकुस्मा ८ चप्परगौडीमा भएको उक्त बस आगलागीबाट १० जनाको जीवीतै उद्धार गरिएको भएपनि अन्य १७ यात्रु सम्पर्कमा छैनन्। उक्त बसले घटनास्थल भन्दा ५ किलोमिटर पूर्व रहेको दाङको अमिलीयामा ३३ यात्रुको इन्ट्री गराएको प्रहरीले जनाएको छ। 'कुल ३३ यात्रु रहेको अमिलीयाको इन्ट्रीले देखाएको छ, ती मध्ये १० जना घाइतेलाई उद्धार गरिएको छ,' अस्थायी प्रहरी पोष्ट कुसुम बाँकेका प्रहरी सहायक निरिक्षक पुष्कर बमले नागरिकन्युजसँग भने '१७ यात्रु सम्पर्कमा छैनन्, उनीहरु आगोमै डढेको हुन सक्ने अनुमान गरिएको छ।' उनका अनुसार बसमा ठूलो आगलागी भएको थियो। आगोले झण्डै पचास फिट अग्ला रुखका हाँगाहरु समेत जलेर भाँचिएका छन्।
'आगो धेरै ठूलो भएकाले बसमा खरानी मात्रै छ,'बमले भने 'यहाँ शब पनि खरानी भएको हुन सक्ने अनुमान छ ।' बमका अनुसार अहिले सम्म भेटिएका ६ शव मध्य पाँचजनाको शब चिन्नै नसकिने अवस्थामा छन् । एउटा शव मात्रै पहिचान गर्न सकिने खालको रहेको प्रहरीले बताएको छ।
प्रहरीकाअनुसार बसबाट कोही यात्रु पनि भागेको नदेखिएकाले सम्पर्कमा नरहेका यात्रुहरु सकुशल आउन सक्ने सम्भावना कमै रहेको छ। प्रहरीले अहिले खोजतलासको काम रोकिसकेको छ। 'बसभित्र मान्छे रहेको भएपनि उनीहरु सबै खरानी भैसकेका छन्,'बमले भने 'खरानीको थुप्रो मात्रै रहेकाले अहिलेलाई खोजीकार्य रोकेका छौँ ।'
बुटपलबाट नेपालगन्ज जाँदै गरेको लु १ ख ५८२८ नम्बरको बस बाँकेको खासकुस्मा ८ चप्परगौडीमा पल्टीदा आगलागी भएको हो। बसमा ग्यास सिलिण्डर र ठूलो परिमाणमा पेट्रोलियम पदार्थ रहेकाले बस पल्टीएपछि आगलागी भएको प्रहरीले बताएको छ। घाइते मध्य ५ जनालाई उपचारका लागि लमही ल्याइएको छ भने थप ५ घाइतेलाई नेपालगन्ज लगिएको छ।