‘मलेसियाली विमान खसाल्ने क्षेप्यास्त्र रुसी’!!भिडियो,
आश्विन २७, २०७२- युक्रेनमा भएको मलेसियाली विमानमा क्षेप्यास्त्र प्रहारको घटनाको जाँच प्रतिवेदन सार्वजनिक गरिएको छ । जसअनुसार उक्त विमानमा प्रहार गरिएको क्षेप्यास्त्र रुसमा निर्मित रहेको खुलेको छ ।
क्वालालम्पुरबाट नेदरल्यान्डसको आम्स्टर्डम गइरहेको एमएच १७ विमान १७ जुलाई २०१४ मा युक्रेनमा खसालिएको थियो । विमानमा सवार २ सय ९८ जना मारिएका थिए । डच सेफ्टी बोर्डका अध्यक्ष चिब्या योस्ट्राका अनुसार रुसमा निर्मित क्षेप्यास्त्र नै प्रहार भएको पुष्टि भएको हो ।
रुसले उक्त आरोप अस्वीकार गर्दै युक्रेनी भूमिबाटै क्षेप्यास्त्र प्रहार भएको बताउँदै आएको छ । फोरेन्सिक प्रमाणअनुसार जमिनबाट आकाशमा मार गर्ने बुक–६ क्षेप्यास्त्र बोइङ ७७७ विमानको ककपिटनजिक लागेको पुष्टि भएको योस्ट्राले जानकारी दिए । उक्त रिपोर्टमा कसैलाई आरोप लगाइएको छैन । गृहयुद्धग्रस्त युक्रेनलाई आफ्नो हवाई क्षेत्र नागरिक उडानका लागि बन्द गर्न सुझाव दिइएको छ ।
योस्ट्राका अनुसार एमएच–१७ विमान खसालिएको समयमा सोही क्षेत्रबाट अरू तीन यात्रीविमान उडिरहेका थिए । चालक दलले विमानको उचाइ सही भएको यकिन गरेर मात्र उडान भरेको पुष्टि हुने उनले बताए । उक्त घटनामा मारिएकामध्ये नेदरल्यान्डसका १ सय ९६ र बेलायती १० जना थिए ।