नुवाकोटमा बन्ने भो केरुङ-विदुर पेट्रोलियम पाइप लाइन ! चीनबाट सिधै तेल आउने कजाकिस्तानबाट ग्यास ल्याउनुपर्छ: राजदूत मास्के
भोलाराज पौडेल
नुवाकोट, १६ कात्तिक । नेपाल आयल निगम र चाइना आयल कर्पोरियनबीच तेल खरिद विक्री गर्ने समझदारी भएपछि नेपालतर्फ तेल आपूर्ति गर्ने भरपर्दो उपायको खोजी हुन थालेको छ ।
चीनले रसुवागढी नाकाबाट नेपालसँग इन्धन विक्री गर्ने बताएपछि यो नाकातर्फ सरोकारवालाको ध्यान केन्द्रीत भएको छ । त्रिशूलीदेखि रसुवाको धुन्चेसम्मको सडक, पहिलो र जोखिमपूर्ण बाटोका कारण वैकल्पिक उपायहरुको खोजी हुन थालेको हो ।
चीनको राजधानी बेइजिङबाट स्थलगत अवलोकन गर्दै शनिबार साँझ रसुवागढी नाका आएका चीनका लागि नेपाली राजदूत डा. महेश मास्केले नुवाकोट र रसुवाका सुरक्षा निकायका प्रमुख एवं नागरिक समाजका प्रतिनिधिहरुसँग नाका व्यवस्थित बनाउने र दीर्घकालीन रुपमा इन्धन आयत गर्नेबारेमा छलफल गरेका छन् । राजदूत मास्केको साथमा परराष्ट्र मन्त्रालय उत्तरपूर्व महाशाखा हेर्ने सहसचिव झविन्द्रप्रसाद अर्यालसमेत सहभागी थिए ।
Rasuwagadi-Kerung-Naka (2)नुवाकोटका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार राजदूत मास्केले चीनको केरुङदेखि नुवाकोटको सदरमुकाम विदुरसम्म पाइप लाइन विस्तार गरी विदुरमै भण्डारण केन्द्र निर्माणको लागि सम्भावित स्थानहरुको बारेमा सल्लाह मागेका थिए । ‘मास्केले केरुङवाट रसुवागढी नाकावाट सरकारले इन्धन ल्याउँदा भण्डारण स्थलको बारेमा प्रश्न गर्नुभएको थियो, प्रजिअ ढकालले भने– ‘मैले नुवाकोटको पिपलटार क्षेत्र इन्धन भण्डारणको लागि उपयुक्त स्थान हुन सक्छ भनेको छु ।’ ढकालका अनुसार पाइप लाइन नै दीर्घकालीन इन्धन आपूर्तिको एक मात्र विकल्प भएको सुझाव आफूले दुवै सरकारलाई दिने बताएका थिए ।
केरुङवाट रसुवागढी नाका हुँदै नुवाकोट ल्याएर इन्धन विदुर नगरपालिका वडा नं. ७ पिपलटारमा रहेको व्यक्तिगत वा सार्वजनिक जग्गामा राख्दा उपयुक्त हुने सुझाव आफूले राजदुत मास्केलाई दिएको प्रजिअ ढकालले बताए ।
चीनको केरुङ–सिगात्से सडकवीचमा पर्ने हिउंँको समस्या रहेकाले पाइप लाइन बन्नु भन्दाअघि दीर्घकालीन रुपमा इन्धन भण्डारण र ढुवानीको लागि तयारी र जोखिम न्यूनीकरणको विषयमासमेत छलफल भएको उनले बताए ।
रसुवामा राजदूत मास्केले कजाकिस्तानबाट चीन हुँदै नेपालमा ग्यास आपूर्ति गर्न सहज हुने बताएका थिए । कजाकिस्तानबाट ग्यास खरिद गर्दा ग्यास निकै सस्तो हुने मास्केले बताएका थिए ।
डा. मास्केले चीनको केरुङबाट रसुवागढी नाका हुँदै काठमाडौसम्म इन्धन जान थालेको विषयमा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई जानकारी गराएर दीर्घकालीन रुपमा सडक मार्गको सुरक्षा, भण्डारण स्थल तथा स्थानीयवासी तथा नागरिकको सहयोगका सम्वन्धमा चासो राखेका थिए ।
रसुवातर्फको सडक साघुरो भएकाले यसलाई पराकिलो पार्नका लागि सरकारसँग आफूले सल्लाह दिने उनले बताए । उनले दीर्घकालीन रुपमा पाइप लाइनद्वारा तेल ल्याउँदा नेपालको आवश्यकता दीर्घकालीन रुपमा पुर्ती हुने भएकाले सरकारसँग दीर्घकालीन रुपमा योजना पेश गर्ने बताए ।
१२ ट्याङकर साँझ काठमाडौं आइपुगे
चीनले अनुदानस्वरुप उपलब्ध गराएको पेट्रोल सोमबार साँझ काठमाडौँमा आइपुगेको छ । आइतबार नेपाल–चीनको केरुङ नाकामा नेपाललाई अनुदानमा उपलब्ध गराएको पहिलो ‘लट’ को पेट्रोल काठमाडौँ आइपुगेको नेपाल आयल निगमका थानकोट डिपो प्रमुख रविन शर्माले जानकारी दिनुभयो ।
चीनले नेपाललाई एक हजार टन (१३ लाख लिटर) पेट्रोल अनुदानमा दिने सहमति गरेको थियो । भारतको अघोषित नाकाबन्दीका कारण चर्को इन्धन सङ्कट भएपछि विकल्पका रुपमा सरकारले चीनबाट आयात गरिएको हो ।
नेपाल आयल निगम र पेट्रो चाइनबीच चीनबाट इन्धन आयात गर्ने औपचारिक सहमति भएपछि इन्डियन आयल कर्पोरेसन(आइओसी)सँगको एकलौटी व्यापारको विकल्प पाएको हो ।
पहिलो लटमा उपलब्ध गराउने पेट्रोल लिन एक हजार २०० लिटर बोक्ने १२ वटा ट्याङ्कर गत शुक्रबार केरुङतर्फ गएको थियो । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका महासचिव विश्वप्रसाद अर्यालका अनुसार १२ वटा ट्याङ्करले पहिलो लटमा एक लाख दुई हजार लिटर तेल आइपुगेको छ ।
- दैनिक नेपाल


