भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको घर बाहिर गोली चल्यो, दिल्लीमा हंगामा
काठमाडौं, ३ मंसिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवासमा गोली चलेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार मोदीकै सुरक्षामा खटिएका एक प्रहरी जवानले तीन राउण्ड गोली चलाएका हुन् । उनले अटामेटिक राईफलबाट गोली चलाएको बताइएको छ । गोली चलेपछि प्रधानमन्त्री मोदीको सेभन रेसकोर्स रोडस्थित आवासमा कर्मचारीहरुको भागाभाग भएको थियो ।
गोली प्रहारबाट कसैलाई पनि चोट नलागेको र कोही पनि घाइते नभएको बताइएको छ । प्रधानमन्त्रीकै आवास बाहिर गोली चलेपछि दिल्लीमा हंगामा मच्चिएको छ । सुरक्षा निकायका प्रमुखहरु विहानै त्यहाँ पुगेका थिए ।
गोली चलाउने प्रहरी जवानलाई दिल्ली प्रहरीले गिरफ्तार गरेको छ । घटनाको अनुसन्धान भइरहेको नयाँ दिल्ली जिल्लाका डीसीपी जतिन नरवालले बताए ।

