भारतविरुद्धै लड्नुपर्ने बेला आएको भन्दै भारतीय गोर्खा शैनिकले मोदीलाई लेखे यस्तो पत्र

बाहिर बाट हेर्दा आराम र बिल्कुल शान्त छु तर अन्तर्यमा अति विचलित र अशान्त छु । तपाईँ पनि यस्तै अवस्थाबाट गुज्रिरहनुभएको होला भनी अनुमान गर्दछु । तपाईँलाई यो पत्र एक भारतीय गोर्खा सेनाको तर्फबाट कोर्दै छु । तर यतिबेला बाबाको अस्वस्थताका कारण आफ्नै  प्यारो मातृभूमि नेपालमा घर विदामा आएको छु । आफ्नो प्राणको बाजी राखेर विदेशी भूमिमा लडेको मैले नेपालमा आउनासाथ भारतका कारण थुप्रै किसिमका दुःख पाउन थालेँ । बिरामी बाबुलाई अस्पतालसम्म लैजाने गाडी छैन, बलै अस्पताल लगियो, औषधि छैन । यातायातका कारण डाक्टरको समय प्रभावित भएको छ । बाबाको केस जटिल छ, अस्पतालमा अक्सिजन ग्याँस समेत छैन, आइ सि यु बन्द छ । जुन बाबाले तपाईँको सेनामा संगठित हुने छोरो जन्माए, छोरो विदेशी भूमिमा लड्दै गर्दा छोराले सम्हालेको मोर्चाको विजय कामना गर्दै एक्लै कसला काटे आज ती बाउ तपाईँहरूकै कारण असमयमै मर्ने भए भन्नुस् म कसरी पुनः भारतीय सेनामा फिर्ता होऊँ?

गुन्द्रुकको मोलमा नेपालबाट जडिबुटी लगेर लाखौँमा पुनः हामीलाई नै बेचिन्थ्यो । तर सिङ्गो देशलाई अफ्ठ्यारोमा पार्ने गरी हाम्रै जडिबुटीबाट बनेका महङ्गा औषधि पनि रोकिएको छ । के यो सब मानवियता विरुद्धको अपराध होइन? यत्रो वर्ष नेपाली भएर भारत, भारतीय जनता र भारतीय भूमिको लागि दिलोज्यान दिई लडेको म अब भने पुनः भारतीय सेनामा हाजिर हुन नगई विस्तारवादको विरुद्ध राष्ट्रिय मोर्चाको कमाण्ड समाल्ने इदमित्थंमा पुगेपछि यो प्रतिवद्धता पत्र लेखेको हुँ । यसपटक धर्मको नुन होइन आफ्नो घरमा नभएको नुनको लागि लड्ने सोचमा छु ।
   अहिलेसम्मको लडाइँ तपाईँहरूले लडाइदिनु भयो । हामी सिपाही माथिको आदेश पर्खन्छौँ र अर्काको लागि लड्छौँ । तर यसपटक चाहिँ विवेकले निर्देशित भएर राष्ट्रियताको पक्षमा लड्ने निष्कर्षमा पुगेको छु । गौरव पनि छ किनभने यो लडाइमा न्यायको लागि र आफ्नो जातिलाई आत्मनिर्भर बनाउनको खातिर लामबद्ध हुँदै छु । जीवनभर एउटा सिपाहीले बटुलेको ज्ञान भनेको अन्यायका विरुद्ध लड्न सिक्नु र राष्ट्रियतालाई सर्वोपरी ठान्न सक्नु न हो ।
अहिलेसम्म हारे यसै हार भइहाल्यो जिते पनि आफ्नो देशले नजित्ने लडाइँ तपाइँ र तपाइँको देशका निम्ति पटकपटक लड्यौँ । यसको बदला के पायौँ? रोजी रोटी ? अहँ होइन, आफ्नै आर्जनले पाउनुपर्ने रोजी रोटी अब कसैको खोसी रोटी भएको छ । अब भन्नोस् भोको पेटमा विदेशीको निम्ति कसरी लडाईं लड्न सक्छु? जसका कारण घरमा बुढी आमा भोकै र बाबा अन्तिम अवस्थामा छटपटाइरहेका छन् त्यही कारक राष्ट्रको सीमा रक्षाको लागि मेरा गोडा कसरी कास्मीर तर्पm लम्कन सक्छन्?
तपाईँलाई चिया पसलेदेखि कार्यकारी प्रधानमन्त्री सम्मको दुःख, सुख थाहा छ । नेपालका चोकचोकमा चिया बेचेर गुजारा गर्ने नेपाली र भारतीय मूलका दाजुभाइ थुप्रै छन् । चिया उमालेर बेच्ने इन्धन नपाउँदा तिनका मन आक्रोशको आगोले कति उम्लिरहेकोहोला ? नेपाली भूमिमा भारतीय मूलका मानिस भनेको सुन्दा तपाईँलाई चिन्ता लाग्यो होला । चिन्ता नलिनुहोस्, गोरखालीहरूमा मानवता हराएको छैन । ती चिया बेच्ने, कपाल काट्ने, तरकारी र फलफुल व्यवसायी सम्पूर्ण भारतीय मूलका मानिसहरू नेपाली भूमिमा सुरक्षित रहनेछन् । सयौँ वर्ष अघि देखि भारतीय थुप्रै माग्नेहरूलाई त्यत्तिकै पनि त पालिरहेकै छौँ, हुन त तपाईँ गुन सम्झने मानिस हुँदै होइन ।
मानवताको कुनै साँध सिमाना र भूगोल हुँदैन भन्ने हामीलाई थाहा छ । मानवताको दृष्टिकोणले हाम्रो नजरमा मोदी मोडेलमा जस्तो विहार र विराटनगर, अनि गुजरात र गोँगवु काठमाडौँमा फरक पर्दैन । जे होस्, यो क्रियाकलापले पुष्टि गर्छ कि यो अन्तराष्ट्रिय नेता बन्ने तर्पmको यात्रा भने यो कदापि होइन । सानो छिमेकी मित्र राष्ट्रको मन नजित्नेले कसरी विश्वको मन जित्न सक्लान्?

आफ्नो आङ कन्याएर के को छारो उडाउँ र तैपनि यो अघोषित नाकाबन्दीको कारण हाम्रा नेताहरूको कर्मदोष पनि जिम्मेवार छ । गरिब हुनुमा हाम्रा नेताहरुका अदूरदर्शिता र तुच्छ स्वार्थ जिम्मेवार छन् । उदाहरणको लागि चार हजार मेगावट मात्र विजुली भारतलाई बेच्न पाएको भए अहिले यो अवस्था झेल्नु पर्ने थिएन । महङ्गो गरी पाठ सिक्दै छौँ कि अब कुनै हालतमा आत्मनिर्भर बन्नै पर्ने हुन्छ । सिपाही नै भएपनि यति थाहा छ कि हाम्रो देश गरिब भएकाले छिमेकीले हेपेका हुन् । हाम्रो देशमा शत्रुको आँखा प्राकृतिकरुपमा देश धनी र आर्थिक हिसावले जनता गरिब भएकाले लागेको हो । के गफ गरौँ, कति खानी छन् खनिएकै छैनन्, कति शिखर छन् गनिएकै छैनन् अनि कति गाथा छन् भनिएकै छैनन् । सोचिरहेछु, भारतीय सेनामा पुन गएर लडाइँ लड्नु भन्दा त गोलभेडा खेती गरुँ । यसो गर्दा बरु स्वाभिमान जोगिएला । अर्कोतिर कम्तिमा तरकारीमा मात्र भने पनि आत्मनिर्भर भइयो भने पनि जलविद्युतमा लगानी गर्न, खानीहरू खन्न केही रुपिया बचाउन सकिन्थ्यो । अबको लडाइँ कास्मिरमा बसेर लेनादेना नभएका पाकिस्तानी सेनाका विरुद्ध होइन हिमाली भूमिमा उभिएर विस्तारवादको विरुद्ध लडूँ । सबै लडाइँ भौतिक हतियारले नै लडिन्छ भन्ने छैन, उसो त यी अक्षरहरू पनि हतियार नै हुन् जुन पढेपछि शत्रुहरू केही न केही कमजोर हुनेछौ ।
नेपाली हुनुको नाताले मेरो राष्ट्रियता भारत भक्तिमा होइन नेपाल प्रेममा छचल्किएर प्रकट हुने हो । नेपालीहरू भिरमा पनि फुल्न सक्ने, पिरमा पनि चोट भुल्न सक्ने अचम्मका जीव हुन् । यति कुरा सहजै थाहा पाउन सकिन्छ कि यस नाकाबन्दी भित्र अनेकौँ रहस्य लुकेका छन् । भुपरिवेष्टित राष्ट्रले उपभोग गर्न पाउने अधिकार एवम् पटकपटक आपैmले हस्ताक्षर गरिएको पारवहन सन्धिको ठाडो उल्लङ्घन त हो नै एक राष्ट्रले अर्को राष्ट्रलाई गरिएको बाह्य हस्तक्षेप हो यो । विज्ञहरू त तराइतिरको पेट्रोलियम खानीहरूको उत्खनन गरी उपयोगमा लेराउँदा दीर्घकालीन रूपमा सीमा नजिकै भारतीय खानीमा समेत प्रभाव पर्न सक्ने कुरा औँल्याउँछन् । स्पष्ट छ, नेपालका थुप्रै प्राकृतिक स्रोत साधनप्रति भारतका आँखा गडेकै छन् ।
नेपालको सर्वाभौमिकता एवम् राष्ट्रिय अखण्डता विरुद्ध यो नाकाबन्दी लक्षित छ भन्ने जानकारी पाउँदा रगत त्यसै त्यसै उम्लिएर आउँछ । तराइका केही नेता र सर्वसाधरणलाई सिमाङ्कन र नागरिकताका सम्बन्धी भ्रम पैmलाएर भड्काउँदै प्रदेश हुँदै अन्तमा छुट्टै देशको माग गराउन लगाउने र त्यस भित्र अर्को देशको आन्तरिक कलहमा खेल्ने दाउपेच थाहा पाउँदा कुन चाहिँ देशभक्तको रगत नतात्ला र?

प्रतिक्रिया दिनुहोस