राजविराज झडपमा टाउकोमा गोली लागेका साहको मृत्यु

राजविराज : राजविराजमा आइतबार अपरान्ह भएको झडपमा प्रहरीको गोलीले घाइते दिलिप साहको मृत्यु भएको छ ।
राजविराज–१ का ३५ वर्षीय साहको उपचारका क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।टाउकोमा गोली लागेका उनलाई राजविराजमा उपचार सम्भव नभएपछि उपचारका लागि धरान पठाइएको थियो ।
राजविराज–१ स्थित आफ्नो घरको छतमा रहेका साहको टाउकोमा र उनकी छोरी ६ वर्षीया मुस्कान साहको हातका औँलाहरुमा गोलीको छर्रा लागेको थियो । राजविराजमा उपचाररत मुस्कानको अवस्था सामान्य रहेको जनाइएको छ ।
राजमार्ग अवरोध गरेर बसेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच शनिबार राति झडप हुँदा रुपनी र भारदहमा दुई जनाको मृत्यु भएपछि राजविराजमा दिनभरी दोहोरो झडप भएको थियो ।
राजविराजमा प्रदर्शनकारी र प्रहरीबीच आइतबार दिनभरी पटक–पटक झडप भएको थियो । दिउँसो आन्दोलनकारीले राजविराजस्थित प्रहरी बिट र अस्पताल पुगेको प्रहरीको भ्यानमा आगजनी गरेका थिए ।
यससँगै सप्तरीमा प्रहरीको गोलीले मृत्यु हुनेको संख्या तीन पुगेको छ भने जिल्ला प्रशासन कार्यालय सप्तरीकोे सुरक्षार्थ घेरिएको काँडेतारमा प्रवाह गरिएको करेन्ट लागेर एक युवकको मृत्यु भएको थियो ।
प्रहरीको गोली लागेर शनिबार राति रुपनीमा जमुनी मधेपुरा गाविस–९ छपकीका २८ वर्षीय नागेश्वर यादवको तथा भारदहको झडपमा गोली लागेर  डाँढा गाविस–७ का १६ वर्षीय विरेन्द्र रामको मृत्यु भएको थियो ।
जमुनी मधेपुरा ३ का शिवशंकर दासको भने जिल्ला प्रशासन कार्यालय सप्तरीकोे सुरक्षार्थ घेरबेर गरिएको काँडेतारमा प्रवाह गरिएको करेन्ट लागेर मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।
जनआन्दोलन चोकमा प्रहरीले प्रहार गरेको अश्रुग्यास लागेर १० वर्षीय मोहम्मद कलाम घाइते भएका छन् |

प्रतिक्रिया दिनुहोस