जाडोमा रुघा खोकीको घरेलु उपचार टिप्स -थाहा पाईराखौ
सामान्य रुघाखोकी, ज्वरोको समस्या देखिने बित्तिकै औषधि पसलेको सल्लाहमा कडा एन्टिबायोटिक औषधि सेवन गरेर बिमार दबाउने चलनले आम नेपालीको रोग प्रतिरोधात्मक क्षमतामा नकारात्मक असर पारिरहेको वरिष्ठ आयुर्वेद चिकित्सक डा. रामदेव यादव बताउँछन् । ‘कुनै जटिल लक्षण नदेखिएसम्म भाइरल ज्वरोलाई आयुर्वेदको घरेलु उपचार पद्धति नै पर्याप्त हुन्छ,’ उनी भन्छन् ।
रुघाखोकीमा ज्वानोको बाफ लिने, घाँटी दुखेको छ भने कुल्ला पनि गर्नुपर्ने डा. कोइरालाको सुझाव छ । ‘धेरै खोकी लागिरहेको छ भने पानको पातको जुसलाई महमा मिलाएर बिरामीलाई दिँदा सन्चो हुन्छ,’ डा. कोइराला भन्छन्, ‘अदुवाको रस पनि मिसाएर दिन सकिन्छ ।’
यस्तै बिरामीलाई थोरै मरिचको पाउडर अदुवा आदिमा मिसाएर दिँदा हुन्छ । डा. कोइरालाका अनुसार कहिलेकाहीं बिरामीलाई धेरै टन्सिल बढ्यो भने बेसार, चियापत्ती, ज्वानो, नुनले कुल्ला गर्दा समेत सन्चो हुन्छ ।
सामान्य भाइरल रुघाखोकीको समस्यामा सितोपलादि, चालिसादि, सत्यादि, पुष्करमुलाती, रक्त लबंगादी चुर्णहरू, गाउँघरतिर भए रुदिलो पनि धेरै राम्रो मानिन्छ, यस्तै तुलसीलाई पनि घोटेर खान दियो भने यसले रुघाखोकी निको पार्नमा धेरै फाइदा पुर्याउने डा. कोइराला बताउँछन् । उनका अनुसार यो एन्टिभाइरल औषधि जस्तै हो ।
घाँटीको खसखसलाइ हटाउन अदुवाको टुक्रालाई पोलेर नुनसँग मिसाई खान सकिने डा. यादव बताउँछन् । दूधमा बेसार मिलाएर खान दिँदा समेत यो समस्यामा राहत मिल्छ ।
‘तुलसी पात, असरोको पातलाई पानीमा उमालेर पिउँदा समेत फाइदा पुग्छ,’ डा. यादव भन्छन्, ‘कागतीलाई दुई टुक्रा पारेर यसको माथि नुन, बेसार र दुई दाना मरिचलाई राम्रोसँग पिँधेर त्यसमा कागतीलाई अलि तताएर मिलाई रोगीलाई चाट्न दिनोस् । रुघाखोकी जस्ता भाइरलको समस्यालाई ठीक गर्छ ।’
यस्तै, सुल्फी (सुकाएको अदुवा), पिप्ली र मरिचलाई बरोबरी मात्रामा पिँधेर धुलो बनाएर महसँग खानाले पनि राहत मिल्ने यादवले बताए । उनका अनुसार आयुर्वेदविज्ञको सल्लाहमा ज्वरो एक सय डिग्रीभन्दा माथि गएमा त्रिशूल ट्यावलेट दुई-दुई गोली दुई पटक, सँगै त्रिभुवन कीर्तिरश दुई-दुई गोली दुईपटक खान सकिने बताउँछन् । यसको साइड इफेक्ट भने नहुने उनी बताउँछन् । यस्तै ज्वरो कम गर्नका लागि सिटामोलको समेत प्रयोग गर्न सकिन्छ ।
सामान्य रुघाखोकीमा समेत यदि कुनै असमान्य लक्षण देखिए तुरुन्तै आयुर्वेदिक वा एलोपेथिक चिकित्सकको सल्लाह लिनुपर्ने उल्लेख गर्दै डा. कोइराला भन्छन्, ‘सामान्य अवस्थामै यदि १०२ डिग्रीभन्दा बढी ज्वरो आयो भने चिकित्सकको परामर्शमा शारीरिक तौल अनुसारको मात्रामा सिटामोल चक्की खान सकिन्छ ।’
‘यदि छातीमा घ्यारघ्यार भएमा, १०२ डिग्रीभन्दा माथि ज्वरो निरन्तर रूपमा रहिरहेमा, छाती दुखेमा, पहंेलो वा हरियो कफ आएमा, सास फेर्नमा लगायत समस्या देखिए आयुर्वेद वा एलोपेथिक चिकित्सकसँग तुरन्त उपचार गराउनुपर्छ,’ डा. यादव भन्छन्, ‘यो समस्या सामान्यतः पाँच-सात दिनमा निको हुने गर्छ ।’