टेलिकमले ल्यायो डाटा प्याकेज, एनसेल Vs टेलिकम : कुन महँगो ?

काठमाडौं । मोबाइल इन्टरनेटमा नेपाल टेलिकम र एनसेलको प्रतिस्पर्धा सुरु भएको छ। सेवा सुरु गरेको कयौँ वर्षपछि बल्ल टेलिकमले यो वर्ष डाटा प्याकेज बेच्नुपर्ने आवश्यकता देख्न थालेको छ। एनसेलले डाटा बेच्न थालेको धेरै भइसक्दा पनि पोस्टपेडमा टेलिकमले यो वर्षमात्रै डाटा र भ्वाइसको संयुक्त प्याकेज सुरु गरेको हो।


त्यही पनि नजिकको सेन्टरमा गएर फाराम भर्नुपर्ने झण्झटले धेरैले यो सेवा लिइसकेका थिएनन्। असोज २० गतेदेखि भने प्रिपेडमा जस्तै एसएमएस पठाएकै भरमा प्याकेज लिन मिल्ने बनाइएको छ। भदौ १ गतेदेखि प्रिपेडमा पनि डाटा प्याकेज बेच्न सुरु भइसकेको थियो। टेलिकम र एनसेलको डाटा प्याकेजमा कुन महँगो कुन सस्तो त?

कम भोल्युमको डाटा प्याकेजमा एनसेलले उछिनेको छ। टेलिकमको सबैभन्दा कम प्याकेज नै २०० एमबीको छ। मध्यम स्‍तरको प्याकेजमा टेलिकम अगाडि छ। २०० एमबीको प्याकेजको अवधि नै एक महिनाको छ। जबकि एनसेलको २५० एमबीको प्याकेज सात दिनमा सकाउनु पर्छ नत्र खेर जान्छ। मूल्य पनि एनसेलकै महँगो छ।

ठूलो भोल्युमको डाटामा पनि टेलिकमले नै उछिनेको छ। १ जिबीको डाटामा टेलिकम ५० रुपैयाँ सस्तो छ। ३ जिबीको डाटामा एनसेल सस्तो भए पनि भ्यालिडिटी भने एनसेलको एक महिना र टेलिकमको दुई महिना छ।


टेलिकमको डाटा प्याकेज किन्न पोस्टपेडमा १४०० र प्रिपेडमा १४१५ मा कतिको प्याकेज लिन मन लागेको हो, त्यो अनुसार निम्न किसिमको एसएमएस पठाउनु पर्छ।
1 200 MB DATA200MB
2 500 MB DATA500MB
3 1 GB DATA1GB
4 3 GB DATA3GB
5 5 GB DATA5GB

कति डाटा बाँकी छ हेर्न भने प्रिपेडमा VL टाइप गरेर १४१५ मा एसएमएस पठाउनु पर्छ। पोस्टपेडमा भने CB लेखेर १४०० मा पठाउनु पर्छ।

पोस्टपेडमा १० जिबीको प्याकेज उपलब्ध छैन, प्रिपेडम त्यो पनि पाइन्छ।

एनसेलको प्याकेज लिन भने *17123# डायल गरी निर्देशन अनुसार गर्नुपर्छ।

उपभोक्तालाई बेवास्ता
दुवै कम्पनीले भ्याट र टेलिकम सेवा शुल्क जोडेर यति पर्छ है भनेर उपभोक्तालाई जानकारी दिन कञ्जुस्याइँ गरेको छ। कर हामीले लिने हैन सरकारले लिने हो भने पनि उपभोक्ताले त तिर्नुपर्छ। करसहित जोडेर उपभोक्ताले तिर्नुपर्ने रकम यति हो भनेर जानकारी दिएर उपभोक्तालाई सजिलो बनाउन कोही तयार देखिँदैन माईसंसारमा समाचार छ ।

त्यस्तै एक पटक रकम तिरेपछि यति अवधिभित्रै त्यो प्याकेज सकाइहाल्नुपर्छ भनेर शर्त नराख्ने प्रतिस्पर्धा टेलिकमहरुबीच कहिले हुने होला? त्यसो त विदेशका टेलिकमहरु झन् यो मामिलामा खराब छन्। तर उपभोक्तालाई सजिलो बनाउने मामिलामा बाहिरबाटै नसिकी आफै उदाहरण बन्ने प्रयासको कल्पना कल्पनामै सीमित हुने होला त ?

प्रतिक्रिया दिनुहोस