वीरगञ्जमा मधेसी जनताले जलाए मोर्चाका यी चार नेताको पुत्ला
वीरगञ्ज, २३ माघ । तराईमा आन्दोलनरत मधेसी मोर्चाका शीर्ष नेताहरुको वीरगञ्जमा पुत्ला जलाइएको छ ।
मधेस आन्दोलनकै प्रमुख केन्द्र वीरगञ्जमा शनिबार आक्रोशित मधेसका जनताले पुत्ला जलाएका हुन् । उनीहरुले चारै नेतालाई ‘गद्दार’ भनेका छन् ।
मधेसी जनताको टुट्टै संगठन मधेश आन्दोलन संघर्ष समितिको अगुवाईमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवको पुतला जलाइएको हो ।
उनीहरुले मधेश आन्दोलन तुहाएको आरोपमा मोर्चाका शीर्ष नेताहरुको पुत्ला जलाएका हुन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डको पनि पुत्ला जलाएका छन् ।
यसअघि मधेश आन्दोलन संघर्ष समितिले सिर्सिया सुख्खा बन्दरगाहबाट निकालेको रयाली घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो ।
सभालाई मधेशी जनअधिकार फोरम मधेशका अध्यक्ष भाग्यनाथ गुप्ताले सम्बोधन गर्दै उचाईमा पुगेको मधेश आन्दोलनलाई मोर्चाका गद्दारहरुले षडयन्त्र पूर्वक तुहाउन प्रयासमा जुटेको आरोप लगाए । उनले आम मधेशी जनतालाई सचेत हुन आग्रह गरे ।

