नेहाका हत्यारा पक्राऊ एसपी पालले भने–‘हत्यारा १/२ दिनमै सार्वजनिक गर्नेछौैं
नेहाका हत्यारा पक्राऊ
एसपी पालले भने–‘हत्यारा १/२ दिनमै सार्वजनिक गर्नेछौैं’
डन न्यूज संवाददाता
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरि पालले योरुना (नेहा) पुनको हत्यारालाई १/२ दिनमैं सार्वजनिक गरिने जानकारी दिएका छन् । एसपी पालले डन न्यूजसँग भने–‘नेहाको हत्यारा नजिकै हामी पुगीसकेका छौं, अब १/२ दिनमा नै हामी घटनाको दोषीलाई सार्वजनिक गर्नेछौं ।’
१९ वर्षीया नेहाको हत्या लगत्तै कास्कीका प्रहरी नायव उपरिक्षक गजुसिद्वी बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली बनाई प्रहरीले हत्याराको खोजी गरेको थियो । उक्त टोलीमा अञ्चल प्रहरी कार्यालय गण्डकीको गुल्ममा कार्यरत प्रहरी निरीक्षक देवी पौडेल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षकद्वय रामबहादुर अधिकारी र सुदर्शन लम्साल र अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रहरी सहायक निरीक्षक भद्रकृष्ण पौडेल रहेका थिए ।
गत सोमबार बिहान घरबाट काममा निस्केकी १९ बर्षिया नेहाको शव भोलिपल्ट बिहान मंगलवार घर नजिकै भेटिएको थियो । साँझ कामवाट जहिले पनि टुप्लुक्क घर आईपुग्ने नेहा सोमबार अबेरसम्म नआएपछि रातभर उनका परिवारले नेहाको खोजी गरेका थिए ।
विहान घुमफिर गर्न निस्केका छिमेकीहरुले कालो कपडाले ढाकेको शव देखेर हल्ला गरेपछि नेहाका आफन्त घटनास्थलमा पुग्दा छाँगोवाट खसेजस्तै भएका थिए । पछि प्रहरी आएर हेर्दा शव अर्धनग्न अवस्थामा र टाउको पछाडि रगताम्मे गम्भिर चोट देखिएको थियो ।
दिदी र आमासँगै बस्दै आएकी नेहाको मृत्युपछि आमा वेहोश भएकी थिईन् । अहिले पनि छोरीलाई सम्झेर आमा एकदमै शिथिल अवस्थामा रहेकी मामा यामप्रसाद पुनले बताए ।
उनले नेहाले प्लस टुसम्म अध्ययन गरेकी जानकारी दिए । नेहाले केही बर्ष पहिला बनेको मगर भाषाको चलचित्र ‘गाउला’ मा सहनायिका र अर्को चलचित्रमा ‘यूँपा’ की नायिकाको भूमिका निर्वाह गरेकी थिइन ।
म्याग्दीको खिमखोलाबाट पोखराको नयाँगाउँस्थित ऋषिमार्गमा आमा र दिदीसँग बस्दै आएकी यरुना न्यूरोडस्थित स्माईल क्याफे एण्ड रेष्टुरेण्टमा फ्रण्ट डेस्कमा काम गर्थिन ।
रेष्टुरेण्टका प्रोपाइटर मेजन पुनले नेहा गाउँतिरकी चेली भएकीले पाँच महिनादेखि काममा राखेको जानकारी दिए । ‘नेहा फ्रेण्डली र हकि स्वभावकी केटी थिईन,’ मेजनले भने ‘गत सोमबार उनी क्याफेबाट पाटीमा जानु छ भनेर सात बजे निस्किएकी रहिछिन् । जाँदा मोवाइल बिर्सेर गएकीले ल्याण्डलाईनमा सोधपुछ गरेर केही समयपछि लिन आएकी थिईन् । साथीको स्कुटरमा आएकी नेहाले बाहिर स्टार्ट पनि बन्द नगरी भित्र पसेर मोवाइल लिने बित्तिकै बाहिरिएकी क्याफेका कामदारले आफूलाई बताएका थिए ।
प्रहरीले अनुसन्धानको क्रममा पोखराका तीन युवकलाई नियन्त्रणमा लिएको छ । तीमध्ये एक जना नेहाका धर्म दाइ भएको प्रहरीले जनाएको छ । सोमबार साँझ पनि नेहा क्याफेबाट निस्केर धर्मदाइको साथीले दिएको पाटीमा सहभागी भएको अनुसन्धानबाट खुलेको प्रहरीस्रोतले वताएको छ ।
‘पोखराको न्यूरोड घर भएका धर्म दाइले पहिला पनि अवेर हुँदा नेहालाई राती घरतिर पु¥याईदिने गरेको थाहा भएको छ,’ प्रहरीस्रोतले भन्यो ‘त्यो दिन सोमबार पनि पाटीमा गएकी नेहा भोलिपल्ट कसरी मृत भेटिईन् प्रहरीले गम्भिरतापूर्वक अनुसन्धान र छानवीन गरिरहेको छ ।’ तीमध्ये हङकङ आइडी भएका एक युवकको आगामी शनिबार उडान भएकोले जानुअघि उनले साथीहरुलाई पाटी दिएका प्रहरीले बतायो ।

