९ दिनसम्म जमिनमा पुरिएको नाटक गर्ने सिद्धबाबाको कर्तुत त यस्तो पो रैछ,यसरी बनाए पोखरेलीलाई उल्लु !

काठमाण्डौ । अहिले संचारमाध्यमहरुमा सिद्धबाबा सर्वत्र छाएका छन् । पोखरास्थित एक घरभित्र ९ दिनसम्म समाधिमा बसेका(बिना अक्सिजन) बसेका भन्दै सिद्धबाबाको चर्चा व्यापक बनेको छ । कतिपय चिकित्सकले ३ मिनेटभन्दा बढी अक्सिजनबिना मान्छे बाँच्नु विज्ञानका लागि नै चुनौति भएको बताइरहेका छन् । बहालवाला मन्त्री, पूर्वमन्त्री, प्रशासक, नेता, सामाजिक कार्यकर्ता, पत्रकार सबै सिद्धबाबाको पछाडि लागेका छन् । ९

दिनसम्म बिनाअक्सिजन प्लाष्टिकले बेरिएको बन्द बाकसभित्र समाधिलिन व्यक्ति कसरी जिउँदै रह्यो भन्ने जिज्ञासा र कौतुहुलता व्यापक छ । ९ दिनसम्म समाधि बसेर वाही–वाही कमाएका सिद्धबाबाको जयजयकार गर्दै पोखरामा रथारोहण नै गरिएको छ । व्यापक चर्चा र भक्तहरुको अपार समर्थन तथा जयजयकार पाइरहेका सिद्धबाबा पूर्वमा गैरकानूनी काममा संलग्न भएपछि कारबाहीमा परिने डरले रातारात पोखरा पुगेका र त्यहाँ आफ्ना कर्तुत लुकाउन समाधिमा बसेर छोप्ने प्रयास गरेका रोचक रहस्य बिजशालाले पत्ता लगाएको छ ।
सुनसरीको चतरामा बस्दै आएका कृष्णदास महाराज अथवा सिद्धबाबा वा मनलागी आफ्नो नाम आफैँ राख्दै हिँड्ने सोलुको जुबुका कृष्णबहादुर गिरी दोहोरो नागरिकता र जडीबुटीको अबैध कारोबारमा संलग्न रहेको संगीन आरोप खेपिरहेका व्यक्ति हुन् ।
पूर्वमा हुँदा ‘कृष्णदास महाराज’ र पोखरामा पुगेर ‘सिद्धबाबा’ नामले चर्चा कमाएका गिरीले दोहोरो नागरिकता लिएर अबैध काम गरिरहेको भन्दै चैत अन्तिम साता स–प्रमाण जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी नै परेको छ । उजुरी उनकै आफन्तले हालेका स्रोतले जनाएको छ । उनी केही समयअघिदेखि विवादमा तानिएका व्यक्ति हुन् । कृष्णदास भनिने कृष्णबहादुर गिरीले नाम, जन्ममिति र स्थायी बसोबासको विवरण फरक–फरक लेखाई सोलू र सुनसरीबाट दुईवटा नागरिकता लिएर कारोबार गर्ने गरेको प्रमाणित भएपछि जेल सजायमा परिने डरले हतार–हतार पोखरा पुगेर उनले समाधिमा बसी अपार चर्चा कमाई त्यसको आडमा कानूनी कारबाहीबाट बच्ने प्रपञ्च रचेका स्रोतहरुले दाबी गरेका छन् ।

कृष्णदासले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट लिएको नागरिकता ।
गिरीले सोलुबाट नाम कृष्णबहादुर गिरी ठेगाना जुबु १ सोलु र जन्म मिति २०३० साल मंसिर १० गते लेखिएको २२२७।५९५ नम्बरको नागरिकता लिएका छन भने २०६५ साल पुष १७ गते सुनसरीबाट नाम श्री बैष्णब कृष्णदासका नाममा जन्म ठेगाना जुबू सोलू, स्थायी बसोबास बराहक्षेत्र–१ सुनसरी, जन्म मिति २०३१ साल फागुन १९ गते लेखिएको ०६९००४।१३२८०८ नम्बरको नागरिकता लिएका छन् । दुवै नागरिकतामा जन्मस्थान जुबु सोलू र बुबाको नाम भने छबिलाल गिरी नै लेखिएको छ । नाम र जन्ममिति फरक–फरक छ ।

कृष्णदासले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट लिएको नागरिकता ।
सुनसरीबाट जारी नागरिकतामा प्रशासकीय अधिकृत वेदनिधि खनाल र सोलुबाट जारी नागरिकतामा भिमसेर रुम्दालीले हस्ताक्षर गरेका छन् । कृष्णदासले दुईवटा नागरिकता मात्र लिएका होइनन्, दुवैबाट बैंक खाता संचालन गरी आर्थिक कारोबार र जग्गा जमिन समेत खरिदबिक्री गरेको पाइएको छ । उनले सुनसरीमा कृष्णबहादुर गिरीका नाममा र देवघाटमा श्री बैष्णब कृष्णदासका नाममा जग्गा जमिन गरिद बिक्री गरेको पाइएको छ । यी लगायतका काम थाहा पाएका परिवारका सदस्यलाई उनले यस्तो कुरा बाहिर लगे मारिदिने सम्मको धम्की दिने गरेका छन् । आफूलाई साधु र सन्तको उपमा दिने सिद्धबाबाले गोप्य रुपमा जग्गाको कारोबार गर्ने गरेका, आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने भन्दै जडीबुटीको तस्करी समेत गर्ने गरेका संगीन आरोप समेत लागेको छ ।

कृष्णदासले फरक–फरक विवरण राखी दोहोरो नागरिकता लिएर दुरुपयोग गर्ने मात्र होइन नाडी छामेर नै बिरामी पत्ता लगाउने भन्दै चतरामा बसेर अबैध किसिमले जडिबुटीको कारोबार समेत गरिरहेका स्थानीयको दाबी छ । अझ आश्चर्यको कुरा त गैरकानूनी ढंगले दोहोरो नागरिकता लिने उनै ढोंगी बाबालाई राज्यको तर्फबाट एकजना प्रहरी हवल्दार पनि उपलब्ध गराएको छ । सुरक्षाकर्मीलाई सँगै गाडीमा राखेपछि र गेरु बस्त्र लगाएको साधु अगाडि बसेपछि उनको गाडी कसैले चेकजाँच गर्दैन ।
उनी त्यही गाडीमार्फत अबैध कारोबार समेत गर्छन । देश र जनताको सेवा गर्छु भनेर सेवापीठ खोलेर बसेका साधुले सस्तो पर्ने भनेर भारतीय नागरिकले दान दियो भनेर भारतीय नं.M L 4B 7661 प्लेटको सुविधासम्पन्न महेन्द्रा कम्पनीको फूल अप्सन स्कर्पीयो गाडी बिनाभन्सार पास विगत दुई बर्ष देखि नेपालमा निर्वाध रुपमा चलिरहेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले कृष्णदासको बारेमा दुईवटा नागरिकता लिएको विषयमा उजुरी परेको बताए । उनका अनुसार उजुरीको विषयमा अनुसन्धान भइरहेको र प्रमाणहरु जुटाएर आवश्यक कारबाही गरिने बताए । दोहोरो नागरिकता लिएको विषय बाहेक भन्सार जाँचपास बिना भारतीय नम्बर प्लेटको गाडी चलाएको, जडीबुटी तस्करीमा संलग्न भएको विषयमा चाहि कुनै उजुरी नरहेको उनले प्रष्ट्याए ।
अधिवक्ता गोपी शर्मा सुवेदीका अनुसार नेपालको नागरिकता ऐन २०६३ को दफा १३ मा दोहोरो नागरिकता प्रमाणपत्र लिनुलाई गैरकानूनी काम भनी परिभाषित गरेको छ । ‘दोहोरो नागरिकता कसैले लिनु भनेको जरीवाना र कारबाहीको भागिदार बन्नु हो ।’ सुवेदीले भने–‘यस्तो सजाय भोगेको मानिस राज्यको कुनै पनि निकायमा नियुक्तिका लागि योग्य हुँदैन, यसको अर्थ दोहोरो नागरिकता लिनु भनेको नैतिक रुपमा पतन हुनु पनि हो ।’
अत्तालिंदै पत्रकार सम्मेलन

चैत अन्तिम साता सिद्धबाबा उर्फ कृष्णदासले सुनसरीको चतरास्थित आश्रममा गरेको पत्रकार सम्मेलन ।
यसैबीच, दोहोरो नागरिकताका कर्तुत बाहिर आएलगत्तै कृष्णदास महाराज भनिने कृष्णराज गिरीले चैत अन्तिम साता सुनसरीको चतरास्थित आफ्नै आश्रममा पत्रकार सम्मेलन गर्दै आफ्नो बचाउ गरेका थिए । आफूसँग आयुर्वेद तथा योगको सम्पूर्ण ज्ञान भएका कृष्णदासले दोहोरो नागरिकता सबै साधु र सन्तले लिने गरेको दाबी गरे । उनले आफ्नो दोहोरो नागरिकताका विषयलाई भाइहरुले नै बाहिर ल्याएर बदनाम गर्ने दुष्प्रयास गरेको आरोप समेत लगाएका थिए ।
जगदगुरुसँग टक्कर

नेपालका प्रथम जगदगुरु बालसन्त मोहनशरण देवाचार्य ।
नेपालकै प्रथम जगदगुरु श्री श्री १००८ बालसन्त मोहनशरण देवाचार्यसँग पनि कृष्णदासको सम्बन्ध राम्रो छैन । चतरामा पीठाधिश भएर बसेका बालसन्तलाई विस्थापन गर्ने उद्देश्यले सियो बनेर पसेका कृष्णदास पछिल्लो समय मुस्लो बनेर निस्किन खोजेपछि र आफ्नै आँखा अगाडि गैरकानूनी काममा संलग्न भएपछि सो ठाउँ छाड्न जगदगुरुले आग्रह गरेका थिए । तर चतरामा आएर स्थापित हुनुअघि ०६५ सालमा समेत उनले पोखराको बाटो नै रोजेका थिए । त्यहाँ पनि ९ दिनसम्म पोखरामाझै समाधि बसेर उनले एकाएक चर्चा कमाएका थिए । ९ दिनसम्म उनी समाधिमा लिन भएको र अक्सिजनबिना बसेको विषय पनि त्यसबेला विवाद र शंकाको घेरामा तानिएको थियो । तर भक्तहरुलाई आफूप्रति आकर्षित गर्न सफल भएकै कारण जगदगुरु मोहशरणले नचाहँदा नचाहँदै पनि उनले चतरामै आश्रम बनाएर बसे र आयुर्वेद विश्वविद्यालय स्थापनाको नाममा चलखेल सुरु गरे । उनले आयुर्वेद विश्वविद्यालय स्थापनाकै नाममा विभिन्न कालका प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका शीर्ष नेता तथा प्रशासकहरुलाई समेत आफ्नो आश्रममा आमन्त्रण गरेर राज्यको उपल्लो दर्जासम्मको पहुँच कायम गरे । यही पहुँचको दुरुपयोग गर्दै उनले जगदगुरुसँग समेत टक्कर लिंदै राज्यबाट सुरक्षाकर्मी नै पाए । यसरी राज्यको उच्च तहका अधिकारीहरुको संरक्षणमै कृष्णदासले साधुको भेषमा गैरकानूनी काम गर्दै आएका र नैतिक पतन हुने काम गर्दा समेत उनी भक्तमाझ साधुको रुपमा प्रस्तुत भइरहेका पाइएको छ । ‘नैतिक पतन नै हुने काम भएको प्रमाणित भएपछि गुरु हुने उनको हैसियत समाप्त हुनुपर्ने हो ।’ एक स्रोत व्यक्तिले भने–‘तर धर्मको आडमा दुनियाँलाई बेवकुफ बनाएर उनले गैरकानूनी कामलाई छोपछाप पार्न खोजिरहेका छन् । पूर्वमा कानूनको नजरमा अपराध गर्ने कृष्णदासलाई पश्चिमको पोखरामा भने महाराजालाई झै रथारोहण गराइनु नसुहाउने काम भयो ।’

प्रतिक्रिया दिनुहोस