हस्तमैथुनका फाइदा के–के छन ? जानिराख्नुस
आफैंले यौनाङ्ग चलाउने वा दबाउने जस्ता क्रियाकलाप गरेर आनन्द प्राप्त गर्ने क्रियाकलाप नै हस्तमैथुन हो । हस्तमैथुन, वैकल्पिक यौन आनन्द प्राप्त गर्ने एउटा उपाय हो ।
समाजमा व्यापक रूपमा रहे पनि यसले सामाजिक मान्यता भने पाएको छैन । यसलाई अप्राकृतिक मान्नेहरूमध्ये कसैले यसलाई पापसँग जोडेका छन् भने कसैले खराब स्वास्थ्यसँग । यसलाई पापसँग नजोडी बुद्धिमान सृष्टिकर्ताले हामीलाई यी कुराको आवश्यकता पर्छ भनी दिएको वरदान मान्नेहरू पनि यो संसारमा छन् ।
कुरा जे भए पनि हस्तमैथुनले हानि गर्छ कि भन्ने चिन्ताले धेरैलाई पिरोलेको हुन्छ, किनभने समाजमा अनेकन् मिथ्या धारणा व्याप्त छन् ।
हस्तमैथुन गरे अनुहारमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, नपुंसक हुने, विवाहपश्चात् आफ्नो यौन साथीलाई सन्तुष्टि दिन नसक्ने वा शीघ्र स्खलन हुने, लिङ्ग बाङ्गो हुने जस्ता अनेकौं भ्रम हाम्रो समाजमा पनि पाइन्छ । वास्तवमा हस्तमैथुनले स्वास्थ्यसम्बन्धी यस्ता कुनै हानि–नोक्सानी गर्दैन । किन त भनेर यसको वैज्ञानिक आधार पनि हेरौं ।
यौनआनन्द प्राप्त गर्ने उपायहरूमध्ये यौनअङ्गको घर्षण प्रमुख हो । सम्भोग गर्दा दुई व्यक्तिको यौनअङ्ग एक–आपसमा घर्षण गराइन्छ । मानिसले आफ्नो यौनअङ्गको घर्षण अरू कसैको यौनअङ्गमा गराए मात्र यौन आनन्द प्राप्त गर्ने होइन ।
हस्तमैथुन एउटा यस्तो उपाय हो जसबाट मानिसले यौनसम्पर्कबाहेक अन्य उपायबाट आफ्नो यौन अङ्गको घर्षण गराएर यौन आनन्द तथा यौन चरमसुख प्राप्त गर्छ । सिद्वान्ततस् सम्भोग गर्दा र हस्तमैथुन गर्दा यौनअङ्गको घर्षणबाट आनन्द प्राप्त गर्ने प्रक्रिया तथा मानव यौन प्रतिक्रिया चक्र उस्तै हो । त्यसैले सम्भोग गर्दा हानि हुँदैन तर हस्तमैथुन गर्दा हानि हुन्छ भन्न मिल्दैन ।
सामान्यतस् हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले भने समस्या उत्पन्न गर्न सक्छ । मानिसले बाल्यकालदेखि नै वयस्क व्यक्तिहरूको व्यवहारलाई चनाखो रूपमा अवलोकन गरिरहेको हुन्छ र त्यसैका आधारमा यौनसम्बन्धी धारणा बनाउन थाल्छ ।
त्यसैले यसमा ठूलो भूमिका हाम्रा सामाजिक मूल्यमान्यता अनि स्वस्थ यौन विकासको हुन्छ । प्राकृतिक शारीरिक क्रियाकलापसँग अमिल्दा रूपमा भएका मूल्यमान्यताले आन्तरिक रूपमा द्वन्दात्मक स्थिति पैदा हुँदा यस्ता नकारात्मक असरहरू देखा पर्छन् । यस्ता नकारात्मक असरबाट जोगिन हामीले मनबाटै नकारात्मक धारणा निकाल्न सक्नुपर्छ ।
हस्तमैथुनका फाइदा
हामीले हस्तमैथुन गर्ने नै यौनसन्तुष्टिका लागि हो । सर्वप्रथम त हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिन्छ । भनिन्छ, तनावबाट मुक्तमान्छे बढी सकारात्मक रूपमा सिर्जनशील हुन सक्छ अनि यौनको दृष्टिकोणवाधट पनि तनावमुक्त हुनुको आफ्नै भूमिका हुन्छ ।
अहिले हामी अनेकौं यौन अपराधका घटनाहरू सुन्छौं । हस्तमैथुनले यौनचाहना शान्त पार्न मद्दत पुर्याउने भएकाले कतिपय यौन अपराध कम गर्न सहयोग पुग्छ भन्नेहरू पनि थुप्रै छन् ।
विवाहपूर्व यौनेच्छा शान्त पार्न देहव्यापारीसँग यौनसम्पर्क गरिन्छ । त्यसो नभए पनि अन्य केटी वा केटा यौनसाथीसँग यौन सम्पर्क राखिन्छ । यस्ता क्रियाकलापमा समय र पैसा दुवै खर्च हुने स्थिति हुन्छ । समाजका अन्य व्यक्तिहरूले थाहा पाउँदा बेइज्जतिको सामना गर्नुपर्ने हुन्छ । अर्कातिर आत्मग्लानि हुने त छँदैछ ।
यस्ता यौन सम्पर्कबाट एचआईभी वा यौनरोग सर्ने सम्भावना पनि त्यत्तिकै हुन्छ । हस्तमैथुन गर्दा यस्तो समय र पैसा खर्च नहुने मात्र होइन, रोगबाट पनि जोगिन सकिन्छ । केटा वा केटीको यौनसम्पर्कमा गर्भधारणको सम्भावना हुन्छ नै । यस्तो गर्भधारण अनिच्छित भए त्यसको थप असर पर्छ । हस्तमैथुनले यस्ता समस्याबाट पनि जोगाउँछ ।
यौनआनन्द प्राप्त गर्न सहयोग गर्ने भएकाले यसले तनाव तथा निराशा कम गर्छ । यहाँ भन्नु पर्दैन कि यसले मनस्थिति लाई राम्रो अवस्थामा राख्छ । पुरुषहरूमा शीघ्र स्खलनको समस्या हुनेहरूले यस्तै २ घण्टाअघि हस्तमैथुन गरेपछि यौनसम्पर्कमा संलग्न हुँदा सहयोग मिल्ने देखिएको छ । नियमित रूपमा यौनसम्पर्क नभएका बेलामा पनि हस्तमैथुन गरेर वीर्य स्खलन हुँदा नयाँ शुक्रकीट आउने भएकाले शुक्रकीटको राम्रो गुणस्तर हुने बताइन्छ ।
महिलाहरूको सन्दर्भमा पनि कुरा गरौं । महिलाहरूले हस्तमैथुन गर्दा एक किसिमले यौनाङ्ग अनि जाँघ क्षेत्रको मांसपेशीको कसरत हुन्छ । हस्तमैथुन नै गरेर भए पनि यौन चरमसुख प्राप्त गर्दा पनि योनिमुखको रस बाहिर आउँछ र संक्रमणलाई कम गर्न सहयोग मिल्छ ।
हस्तमैथुनकै माध्यमबाट भए पनि चरमसुख प्राप्त गर्दा महिनावारीका बेला तल्लो पेट दुख्ने समस्या केही भए पनि कम हुन्छ । हस्तमैथुन गर्ने महिलाले आफ्नो शरीरका बारेमा त्यसमा पनि यौन संवेदनशील अङ्गका बारेमा राम्रोसँग थाहा पाउँछन् अनि यौन साथीसँग यौनसम्पर्क गर्दा कसरी यौन सुख प्राप्त गर्न सकिन्छ भनेर बताउँदा दुवैलाई अझ बढी आनन्द आउँछ । यौनसम्पर्क जस्तै केही हदमा भए पनि हस्तमैथुन गर्दा शारीरिक रूपमा व्यायाम जस्तै हुने भएकाले स्वास्थ्यमा सकारात्मक असर पर्छ ।
विभिन्न कारणले श्रीमान्–श्रीमती वा प्रेमी–प्रेमिकाको बीच लामो समयसम्म यौनसम्पर्क नहुने स्थिति सिर्जना हुनसक्छ । यस्तो बेला अन्य कुनै व्यक्तिसँग यौनसम्पर्क गरेर यौन सन्तुष्टि लिन खोजियो भने परिवारनै विखण्डन हुन सक्छ । हस्तमैथुनले त्यस्तो स्थिति सृजना हुन नदिई सम्बन्ध जोगाउन सहयोग गर्छ ।

