जापानमा शक्तिशाली भूकम्पपछि तीव्र हुरीको वितण्डा,२ जनाको मृत्यु, ५० घाइते

टोक्यो । शक्तिशाली भूकम्प लगत्तै आएको तीव्र आँधीहुरीका कारण जापानमा २ जनाको मृत्यु भएको छ । यस्तै अरु ५० जना घाइते भएको प्रहरीले जनाएको छ ।

आइतवार आएको तीव्र गतिको हुरीले उडाउँदा इशिकावाको समुद्री किनारामा ६६ वर्षीय एक वृद्धको निधन भएको छ । इशिकावामै अरु ६ जना घाइते भए । अर्को छिमेकी अञ्चल तोयामामा पनि एक ६२ वर्षीय वृद्धको निधन भएको छ । उनलाई हावाले उडाएर ल्याएको वस्तुले टाउकोमा लागेको थियो । तोयामामा अरु थप १२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
कानागावामा पनि २९ जना घाइते भए । हुरीले उडाएर पछार्दा ७१ वर्षीया एक वृद्धाको खुट्टा भाँचिएको समाचारमा उल्लेख छ । कागावामा ३०० किलोको वस्तुले किचेर दुई महिला घाइते भएका छन् । एक स्कूलमा चलिरहेको बेसबल प्रतियोगीता हेरिरहेका उनीहरुलाई अकस्मात हुरीले उडाउँदा दुर्घटना भएको थियो । उता निगारा अञ्चलमा कम्तीमा ४० वटा घरहरुको छानो हुरीले उडाइदिएका छन् । ती घरहरुका झ्याल र ढोकामा समेत क्षति पुगेको बताइएको छ ।
राजधानी टोक्योमा पनि निर्माणाधीन भवनहरुबाट १० वटा स्टील प्यानलहरु हुरीले उडाइदिएका छन् । तर त्यसबाट कोही हताहती भने नभएको टोक्यो प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस