रुपन्देही झडपमा बालकसहित ४ को मृत्यु!

लुम्बिनी करिडोरका उद्योगहरूबाट लोड भएका ट्रकलाई प्रहरीले स्कर्टिङ गरेर ल्याउने क्रममा बेथरी चोकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा सुरक्षाकर्मीले चलाएको गोली लागी ४ वर्षीय बालकसहित ४ जनाको मृत्यु भएको छ। ६ प्रहरीसहित ११ जना घाइते भएका छन्।



प्रहरीका अनुसार, मृत्यु भएकामा वीरगन्ज स्थायी घर भई भैरहवा बस्दै आएका बालक चन्दनकुमार पटेल, गोनाहा ६ का ४५ वर्षीय विनोद लाकौल, सिलौटिया ८ की १४ वर्षीया रेजना सिंह र गोनाहा ४ बेथरीका ४० वर्षीय राजकुमार बरई छन्। उनीहरूको शव पुलमुनिको खोलाकिनारमा फेला परेको प्रहरीले जनाएको छ।

अस्पतालमा उपचार गराइरहेकी बेथरीनजिकैको हाटिवनगाईकी ५० वर्षीया स्वगती मुराउको अवस्था चिन्ताजनक छ। उनको शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। गोनाहा ६ की ३० वर्षीया नन्दनी पाण्डे, मैनिहवा ३ का ६० वर्षीय पूर्णवासी धोबी, हाटीवनगाईकी ३० वर्षीया सरस्वती मुराउ र मैनिहवा ७ का दीपेन्द्र साहनीको युनिभर्सल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। झडप हुँदा घटनास्थलनजिकै हाटबजार लागेकाले त्यहाँ गएका बालकको समेत मृत्यु भएको हो।

स्थानीय प्रशासनले वरपरका क्षेत्रमा शुक्रबार बिहान १० बजेसम्मका लागि कफ्र्यु लगाएको छ। रूपन्देहीका एसपी राजेन्द्र ढकालका अनुसार सामानसहितको ट्रकलाई स्कर्टिङ गर्ने क्रममा महिला, बालबालिकासहितको उत्तेजित भीडले अचानक प्रहरीको गाडी र ट्रकहरूमा घरेलु हतियारसहित ढुंगामुढा प्रहार गर्दै आक्रमण थालेका थिए। स्थिति नियन्त्रणमा लिने प्रहरीको प्रयास असफल भएपछि रबरको गोली प्रहार गर्नुपरेको उनले बताए।

‘सुरक्षाकर्मीलाई आन्दोलनकारीले चारैतिरबाट घेरेर आक्रमण गर्न थालेपछि बाध्य भएर गोली चलाउनुपरेको हो,’ एसपी ढकालले भने, ‘कैलालीको घटना दोहोरिने अवस्था आएको थियो।’ उनका अनुसार, आन्दोलनकारीको अवरोधले केही दिनदेखि लुम्बिनी करिडोरका उद्योगहरूमा उत्पादित सामग्री लोड भएका सयौं ट्रक थन्किएका थिए।

१ सय ६० वटा ट्रकलाई स्कर्टिङ गरेर ल्याउने क्रममा पछाडि रहेका केही ट्रकमाथि तोडफोड सुरु भएको थियो। २ वटा ट्रक र प्रहरीका २ गाडी तोडफोड भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई फायर गर्दा पनि नभएपछि रबरको गोली प्रहार गरिएको ढकालले बताए।

घाइतेका आफन्त र स्थानीय बासिन्दाले भने स्कर्टिङ गरेका बेला आन्दोलन समर्थक कुनै कार्यकर्ताले ट्रक र प्रहरीको गाडीमा ढुंगा प्रहार गरेपछि ऊ हाटबजारमा घुसेको थियो। त्यसपछि सुरक्षाकर्मीले गोली प्रहार गरेको उनीहरूको भनाइ छ। युनिभर्सल शिक्षण अस्पताल परिसरमा रहेका स्थानीयले प्रहरीको गोली कुनै पनि आन्दोलनकारीलाई नलागेको बताए। सबै गोली हाटबजारमा आएका सर्वसाधारणलाई लागेको उनीहरूको दाबी छ।

उत्तेजित भीडले बेथरी प्रहरीचौकी घेर्न लाग्दा थप मद्दतका लागि भैरहवाबाट गएको प्रहरी टोलीले हटाएको थियो। घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मीको परिचालन गरिएको छ। भैरहवाबाट मद्दतका लागि थप सुरक्षाकर्मी पुगेपछि घटनास्थल सुरक्षाकर्मीको नियन्त्रणमा छ। आन्दोलनरत पक्षले सुरक्षाकर्मी तैनाथ रहेको स्थानभन्दा केही पर जम्मा भएर नाराबाजी गरेका थिए।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले महिला, बालबालिकासहितको हजारभन्दा धेरै संख्यामा सहभागी भीडले स्कर्टिङ गरिएका ट्रक र प्रहरीमाथि आक्रमण गर्न थालेको र आक्रमणका क्रममा गुलेलीको पनि प्रयोग गरिएको बताए। उनका अनुसार, प्रहरीतर्फ ६ जना घाइते भएका छन्।

अस्पतालमा उपचार गराइरहेकी सरस्वती मुराउले तरकारी किन्न बजारमा जाँदा एक्कासि भागदौड मच्चिएको र भाग्ने क्रममा गोलीको छर्रा लागेको बताइन्। अर्की घाइते नन्दनी पाण्डेले बाहिर हुलदंगा हुन थालेपछि पसलको सटर बन्द गर्ने क्रममा गोली लागेको बताइन्।

अविभावकका साथ बेथरीस्थित डेरामा बस्दै आएका चन्दनकुमार मंगलबार साँझ ५ बजेतिर खेल्न कोठाबाहिर निस्किएका थिए। त्यहीबेला उनलाई प्रहरीको गोली लागेको थियो। वीरगन्ज उपमहानगरपालिका १ पोखरीया स्थायी घर भएका चन्दनका बाबु अवधेशप्रसाद पटेल लुम्बिनी करिडोरस्थित अग्नि सिमेन्ट उद्योगमा कार्यरत कर्मचारी हुन्। उनी श्रीमती र छोरासहित बेथरीमा डेरामा बस्दै आएका थिए। ‘खेल्न बाहिर निस्किएका वेला प्रहरीले गोली चलाउँदा मेरो छोराको ज्यान गयो,’ उपचारका लागि ल्याइएको छोराको मृत्यु भएपछि अवधेशले कान्तिपुरसँग भने, ‘श्रीमती बेहोस भएर ढलेकी छन्।’ गोली चलाउँदै प्रहरी मूल सडकबाट भित्री गल्लीमा छिरेपछि छोरालाई गोली लागेको उनले बताए।

भैरहवादेखि करिब ७ किमि पश्चिमतर्फ भैरहवा–लुम्बिनी सडकखण्डमा पर्ने बेथरीस्थित पुलको छेउमा वर्षाैंदेखि लाग्ने गरेको हाटबजारमा कृषक, व्यापारी र उपभोक्ताको जमघट हुने गर्थ्याे ।

प्रतिक्रिया दिनुहोस