मोरङको जंगलमा हत्या गरी फालिएको अवस्थामा अन्दाजी ३० महिलाको लाश फेला
मोरङ जिल्ला बयरवन गाविसको जंगलमा शुक्रबार हत्या गरी फालिएको अवस्थामा एक अधवंैशै महिलाको लाश फेला परेको छ । अन्दाजी ३० वर्षकी ती महिलाको बलात्कारपछि हत्या भएको आशंका प्रहरीले गरेको छ ।इलाका प्रहरी कार्यालय पथरीका अनुसार वयरवन–९ कानेपोखरीदेखि डेढ किलोमिटर दक्षिण जंगलमा बिहान महिलाको लाश फेला परेको हो । पाँच फिट उचाइकी ती महिलाको नचिनिने गरी ढुंगा प्रहार गरेर अनुहार क्षतविक्षत पारिएको छ ।
महिलाको शव बरामद हुँदा स्थानीयको भिडले पनि पहिचान गर्न सकेको थिएन । घटनास्थलबाट गाउँ नजिकै पर्छ । त्यो गाउँबाट राजमार्ग छिचोल्ने कच्ची सडक छ ।
भट्टराईका अनुसार ती महिलाको मृत शरीरलाई पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । कुर्ता सुरुवाल भेषमा रहेकी ती महिलाको शवसँग साथबाट एकजोर कपडा भएको हातेझोला बरामद भएको छ ।
‘बिहान नै हत्या भएको हो,’ प्रहरी निरीक्षक भट्टराईले भने, ‘यिनी बिहान कतै हिँड्न भनेर राजमार्ग निस्किएकी हुनसक्छिन्, त्यही मौकामा उनको हत्या भएको हुनसक्छ ।’ नाम थर खुल्न नसकेकी ती महिलाको शरीरमा छुरा प्रहार गरिएको चोट फेला परेको छ ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार मृतकको साथबाट पहिचान खुल्ने कुनै चिज नभेटिएकाले अनुसन्धान अघि बढाउन कठीन परेको छ । ‘बलात्कारपछि हत्या भएको आशंका गर्ने आधारहरू भए पनि पहिचान खुल्न नसक्दा अनुसन्धान अघि बढाउन सकिएको छैन,’ पोखरेलले भने, ‘उनलाई खोजी गर्दै अभिभावक पनि अहिलेसम्म नआएकाले समस्या परेको छ ।’

