मनोज गजुरेलको मोदी ब्यङ्ग्य, भारतसँग घुँडा नटेक्न कलाकारको सुझाव
विकाश श्रेष्ठ ।
११ असोज, सोल ।
नेपालमा ऐतिहासिक संबिधान जारी भएपछि भारतसँग सिमा जोडिएका तराईका केही भुभागमा केही असन्तुष्टका आवाज आइरहेको छ । यहि मौका छोपेर जारी संविधानप्रति घुमाउरो पारामा विरोध जनाइरहेको छिमेकी भारतले आफ्ना मालवाहक गाडिको असुरक्षित रहेको भन्दै अघोषित नाकाबन्दी गरिहेको छ । जसले गर्दा नेपालमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ भने दैनिक उपभोग्य बस्तुको अभाव देखिन थालेको छ ।
गत वैशाष बाह्र गते गएको महाभुकम्पका कारण थिलाथिला परेको मुलुकलाई विभिन्न बहानामा अप्ठेरोमा पार्न थालेपछि राजनीतिक दलका नेताहरु र देश विदेशमा रहेका नेपालीको स्वर एकमत हुदै गएको छ । राष्ट्रिय स्वाधिनतामा कुनै पनि छिमेकी मुलुकसँग घुडाँ नटेक्न आग्रह र सार्वभौम मुलुक माथि दादागिरी नदेखाउन फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जाल मार्फत प्रयोगकर्ताहरुले भारत विरुद्ध आक्रमक सन्देश दिइरहेका छन् ।
यसैबीच कोरियाको महान् पर्व छुुसकमा यहाँ रहेका नेपालीलाई भरपुर मनोरञ्जन दिन नेपालबाट आएका नेपाली कलाकार लगायत सवैले भारतको कदम विरुद्ध आक्रमक प्रतिक्रिया दिएका छन् । शनिवार म्याग्दी समाजले आयोजना गरेको सांगेतिक कार्यक्रममा प्रस्तुति पस्केका चर्चित हास्य व्यंगकार मनोज गजुरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्यारिकेचर गरेर भारतको दोहोरो चरित्रको व्यांगात्मक शैलीमा आलोचना गरे । मोदीको पहिरनमा स्टेजमा उपस्थित हुदाँ सहभागीले तालिले स्वागत गरेका थिए ।
Manoj vs Modi
मोदीको भाषणलाई उस्तै शैलीमा क्यारिकेचर गरेका मनोजले मोदीको द्धयत चरित्रको कडा व्यंग गर्दै भारत यस्तो छिमेक देश हो नेपालको नेपालको जुनसुकै भुभागमा पनि सहयोग गर्दै आएको छ । वर्षायाम सुनकोशीमा बाढी आउँदा कोशि ब्यारेजको ढोका बन्द गरेर कोशि क्षेत्र डुवानमा पारेर ठुलो गर्छ । जब हिउँद लाग्छ ब्यारेजका सम्पुर्ण ढोका खोलेर नेपालको पानी बिहार लगेर सिंचाई गरेर सहयोग गर्छ । र सप्तरीमा खडेरी निम्त्याएर सुख्खा पार्छ ।
नेपालमा जब भुकम्प गयो भारतीय टेलिभिजनकर्मी पठाएर नेपाली जनताको दिमाग खराब गराइदियौ । जब संविधान बन्यो हामीले यस्तो समर्थन गर्यौ कि अगाडि पनि पछाडिबाट पनि गर्यौ यसको कसैले पनि बुझेन । नेपाल भ्रमणका क्रममा मोदीले गएको संविधान सभामा गरेको ऐतिहासिक सम्बोधन नक्कल गर्दै मनोजले नानी पानी और जवानी पहाडमा अडिन सक्दैन संविधान इमान जवान र स्वभिमान पहाडमा रहन सक्दैन उसको हामीलाई हवाला गरिदेउ भनेर कडा व्यांयात्मक शैलीमा आलोचना गरे ।
त्यस्तै कार्यक्रममा आफ्नो प्रस्तुति दिन आएका चर्चित लोक दोहोरी गायक पशुपति शर्माले भारतको हेपाहा प्रवृति बढ्नुमा नेपाली नेतृत्वले यस अघि देखि गर्दै आएको आफ्ना स्वार्थपुर्ण क्रियाकलाप हात रहेको दाबी गरे भने हट लोक गायिका ज्योति थापा मगरले सदियौ देखिका दुइ छिमेकीबीच रहेका असमझदारी कुटनीतिक पहलबाट तत्काल समाधान गर्नुपर्ने धारणा राख्दै राष्ट्रियताको सवालमा भने एकजुट हुनुपर्नेमा जोड दिइन् ।
Manoj vs Modi 1
त्यसैगरी चर्चित अभिनेत्री नम्रता श्रेष्ठले पनि भारतको पछिल्ला क्रियाकलाप असह्य खालका भएको टिप्पणी गरिन् । यसैगरी तमू धि समाजको निमन्त्रणमा आएकी सुगम स्वरकी धनी अन्जु पन्तले पनि भारतले नेपाल माथि हेर्ने दृष्टिकोण खराब रहेको र यस किसिमको व्यवहारमा परिवर्तन गर्नुपर्ने धारणा राखिन् ।
कोरियाको छुसक पर्वमा यहाँका नेपालीलाई मनोरञ्जन दिन आएका मनोज गजुरेल, ज्योति मगर, नम्रता श्रेष्ठ लगायतका कलाकार आज नै स्वदेश फिर्ता भएका छन् ।

