सुनको भाउ फेरि घट्यो??डलरको मूल्य उकालो लाग्यो
दुईवर्षअघिको उच्चदरको रेकर्ड तोड्ने हिसावले उकालो लागेको अमेरिकी डलरको भाउले मजबूती कायम राखेको छ । मंगलबारका लागि नेपाल राष्ट्र बैंकले प्रतिडलर विक्रीदर १ सय ५ रुपैंयाँ ३८ पैसा निर्धारण गरेको छ ।
खुला बजारमा वाणिज्य बैंकहरुले भने प्रतिडलर १ सय ७ रुपैंयाँसम्मको विक्रीदरमा कारोबार गरेका छन् । अमेरिकी रोजगारीमा सुधारसँगै अर्थतन्त्र सबल हुन थालेपछि डलर चारमहिनायता मजबूत बनेको छ ।
नेपालको हकमा भने डलरको भाउ वढ्दा निर्यात् व्यापार र रेमिट्यान्स आयमा वृद्धि हुनेछ भने विदेशबाट आयत गरिने वस्तुको मूल्य महँगो पर्न जान्छ । आयातमुखी अर्थतन्त्र भएका कारण डलरको भाउ बढेसँगै नेपालको नोक्सानी पनि बढ्ने गर्दछ ।
पछिल्लो समयमा सामान्य उतारचढाव देखिंदै आएको सुनको भाउ मंगलबार प्रतितोला एकसय रुपैंयाँ घटेको छ । यसअनुसार प्रतितोला छापावाल सुन ५० हजार २ सय तथा तेजावी सुन ४९ हजार ९ सय ५० रुपैंयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार चाँदी प्रतितोला ७ सय रुपैंयाँमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला छापावाल सुन ५० हजार ३ सय, तेजावी सुन ५० हजार ५० र चाँदी ७ सय रुपैंयाँमा कारोबार भएको थियो ।
चिनियाँ शेयरबजारमा आएको भारी गिरावटका साथै चिनियाँ मुद्रा युआनको अवमूल्यनका कारण उकालो लागेको सुनचाँदीको भाउ पुनः अमेरिकी डलर मजबूत बनेपछि ओरालो लागेको हो ।
अमेरिकी संघीय बैंकले व्याजदर नबढाउने निर्णय गरेकाले अर्कोसातादेखि भने सुनको भाउ पनि उकालो लाग्ने अनुमान छ ।