मोदीका विशेष दुतले बोलाएपछि उपेन्द्र यादवसहितका नेता दुताबास पुगे
१ असोज, काठमाडौं ।
संविधान जारी हुन लाग्दा काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दुत एस जयशंकरले मधेशी नेताहरुलाई भारतीय दुताबासमा बोलाएर भेटवार्ता गरेका छन् ।
संविधान जारी गर्ने प्रक्रिया बाहिर बसेर आन्दोलन गर्दै आएका उपेन्द्र यादव नेतृत्वको मधेसी मोर्चाका नेताहरुलाई दूतावासमै बोलाइएको हो ।
मोदीका विशेषदुतसँगको भेटमा उनीहरुले भारतले चाहिने जति प्रभावकारी भूमिका नखेलेको भन्दै गुनासो गरेको श्रोतले बताएको छ । भारतले हस्तक्षेप गर्न नखोज्दा मधेशीलाई हेपिएको र पाखा पारेरै संविधान जारी गर्न लागिएको उनीहरुको गुनासो थियो ।
मोदीका विशेष दुतलाई भेट्न उपेन्द्र यादव, महन्थ ठाकुर, लक्षमणलाल कर्ण र महेन्द्र राय यादव लगायतका नेताहरु दुताबास पुगेका थिए । दुताबासबाट बाहिर निस्किँदै उपेन्द्र यादवले आफ्नो आन्दोलनबारे जयशंकरले विशेष चासो राखेको जानकारी दिए ।
आफूहरुको आन्दोलन नरोकिने र जवर्जस्ती अघि बढ्दा देश दुर्घटनामा जाने चेतावनी समेत यादवले दिएका छन् ।
मोदीका विशेष दुत जयशंकरले मधेशी समुदाय सहितका शक्तिहरुलाई बाहिर राखेर संविधान जारी हुन लागेको विषयमा विशेष चासो राखेको बुझिएको छ ।

