News
»
ओली दिल्ली आउन इच्छुक : भारतीय विदेश मन्त्रालय !
ओली दिल्ली आउन इच्छुक : भारतीय विदेश मन्त्रालय !
थापा–स्वराज भेटमा द्वैदेशीय समस्यामा वार्ता हुने’
आश्विन २८, २०७२- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय कुटनीतिक निकायमार्फत आफू जतिसक्दो चाँडो भारत भ्रमणमा आउन चाहेको र द्वैदेशीय सम्बन्धको बिस्तारमा थाती रहेका मामलाहरुमा परामर्श गर्न इच्छुक रहेको बताएका छन् । प्रधानमन्त्री नियुक्त भएपछि भेटवार्तामा गएका भारतीय राजदूत रन्जित रायलाई ‘दिल्ली भ्रमणको कार्यतालिका तय गर्न’ ओलीले आग्रह गरेका थिए । भारतीय विदेश मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता विकास स्वरुपले प्रधानमन्त्री ओलीको भारत भ्रमणको इच्छाबारे राजदूत रायबाट जानकारी आएको र भ्रमणको कार्यतालिका आपसी सल्लाहमा छिट्टै तय हुने बताए । प्रधानमन्त्री अगाडि नवनियुक्त उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले शनिबारदेखि गर्न लागेको ३ दिने दिल्ली भ्रमणको बारेमा प्रवक्ता स्वरुपले जानकारी गराएका थिए । नेपालमा गत साता नयाँ सरकार आएको सन्दर्भ र नेपाल–भारतबीच सहज पारवहन नभैरहेको यथार्थका माझ तत्कालको राजनीतिक स्थितिबारे अवगत गराउन थापा दिल्ली आउन लागेको प्रवक्ताले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार अपरान्ह संसदमा भाषण गर्दा नेपाल–भारतबीच पारवहन समस्या यथावत रहेको भन्दै यसलाई ‘अनौपचारिक नाकाबन्दी’ भनेर सम्बोधन गरेकोमा विदेश प्रवक्ता स्वरुपले सधैं झैं कुनै प्रकारको नाकाबन्दी नरहेको र नभएको स्पष्टीकरण दोहोर्याए । ‘भारतलाई न औपचारीक अथवा न अनौपचारीक नाकाबन्दीबारे जानकारी छ,’ उनले भने, ‘पछिल्लो २४ घण्टामा नेपाल–भारतका ७ वटा ब्यापारीक नाकाबाट ७ सय ३३ वटा मालबाहक ट्रक नेपालतर्फ निर्यात भएका छन् । के यो अवस्थालाई नाकाबन्दी भन्न सकिन्छ ?’ प्रवक्ताले अझै पनि वीरगञ्ज–रक्सौल क्षेत्रमा धर्नाजुलुस जारी रहेको भन्दै नेपालपट्टीको सिमावर्ती भूभागमा हजारौं आन्दोलनकारी धर्नामा रहेकाले रक्सौलपट्टि झण्डै २ हजार मालबाहक ट्रक अड्किएर बसेको जानकारी दिए । मधेस आन्दोलन जारी रहेको ६२ दिन र सिमावर्ती नाकाहरुमा अवरोध सुरु भएको २१ दिन भैसक्दा पनि यो राजनीतिक समस्यामाथि सम्बोधन हुन नसकेकोतर्फ संकेत गर्दै प्रवक्ताले नेपालका परराष्ट्र मन्त्री थापाको भ्रमणमा द्वैदेशीय सम्बन्ध र समस्याका सबै पक्षमा कुराकानी हुने भएको जानकारी गराए । उनका अनुसार मन्त्री थापाले विदेश मन्त्री सुषमा स्वराज, विदेश सचिव एस जयशंकरलगायतका पदाधिकारीसँग भेटवार्ता गर्नेछन् । प्रवक्ता स्वरुपले अझैपनि गौर, जनकपुर, जलेश्वर क्षेत्रमा धर्नाजुलुस र अशान्ती यथावत रहेको भन्दै अवरोधमा कमी हुनासाथ नेपाल–भारत पारवहनको स्थिति सुध्रिएर जाने दावी गरे । ‘सबै समस्याको हल राजनीतिक संवाद र स्थिरतामा छ, स्थिति सहज हुनेमा आशावादी छौं,’उनले भने ।