दुबै छिमेकीले निम्त्याए ओलीलाई, पहिलो विदेश भ्रमणबारे अन्योल

काठमाडौं, असोज २५ । नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीलाई दुबै छिमेकी मुलुकले भ्रमणका लागि निमन्त्रणा गरेका छन् । तर निर्वाचित प्रधानमन्त्रीका हैसियतमा पहिला भारत जाने कि चीन भन्ने अन्योल ओलीका सामू कायमै छ ।


प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गर्दै बधाइ दिएका थिए । ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले भारत भ्रमणको निम्तोसमेत गरेको भारतीय प्रधानमन्त्री कार्यालयले पुष्टि गरेको छ ।
आइतबार नै ओलीलाई भेटेर चिनियाँ राजदुतले चिनियाँ राष्ट्रपतिका तर्फबाट बधाई तथा शुभकामना दिदैं चीन भ्रमणको निम्तोसमेत गरेका छन् ।
सोमबार बिहानै बालकोटस्थित ओली निवासमै पुगेर भारतीय राजदूत रन्जित रायले ओलीसँग भेटवार्ता गरेका छन् । उनले भारत भ्रमणको मिति तय गर्ने विषयमा समेत चासो राखेको स्रोत बताउँछ । स्रोतका अनुसार ओलीले उपयुक्त समयमा भ्रमण गर्ने आश्वासन दिने बताएका छन् ।
नेपालका सबैजसो प्रधानमन्त्रीले आफ्नो पहिलो विदेश भ्रमण भारतलाई नै बनाउँदै आएको परम्परालाई ओलीले तोड्न सक्लान् कि नसक्लान् ? सर्वत्र चासोको विषय बनेको छ ।
भारतले अघोषित रुपमा नाकाबन्दी गर्दै आएको परिस्थितीलाई मध्यनजर गर्दै भारतसँगको सम्बन्ध सुधार्न पनि ओलीले पहिलो विदेश भ्रमण भारतलाई नै बनाउने विश्लेषकहरुको भनाई छ । यद्यपी ओलीले दशैं अघि विदेश भ्रमणलाई महत्व नदिने एमाले निकट स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस