नेपाल–भारत सीमामा झडप, ४६ राउन्डभन्दा बढी गोली प्रहार

महोत्तरी स्थित नेपाल–भारत सीमा क्षेत्र समसीको पारी कन्हमामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र त्यहाँको मुस्लिम समुदायबीच झडप भएको छ ।


एसएसबीले भारतको बिहार राज्यमा प्रतिबन्धित गाईको मासु लिएर नेपाल प्रवेश गर्न खोजेका एक भारतीय मुस्लिमलाई नियन्त्रणमा लिई मासु नष्ट गरेकोले झडप सुरु भएको समसी सीमा क्षेत्रमा तैनाथ प्रहरीले जानकारी दिएको छ ।

झडपका कारण एसएसबीले प्रदर्शनकारी माथि ४६ राउन्डभन्दा बढी गोली प्रहार गरेको प्रहरीले एसएसबी स्रोतलाई उदृत गर्दै बताएको छ । प्रदर्शनकारीको ढु‌गा लागि दुईजना एसएसबी र एक सशस्त्र प्रहरी घाइते भएका छन ।

घाइते भएका सशस्त्र प्रहरीको हातमा चोट लागेको छ । करीब आधा घण्टासम्म चलेको दोहोरो झपडमा परी दुई सूरक्षाकर्मी सहित एक दर्जन भन्दा बढी भारतीय नागरिक घाईते भएका छन् ।

कन्हमाका केहि व्यक्तिहरुले गाईको मासु काटि नेपालतर्फ भित्र्याउन लागेको बेला कन्हमा र सम्सीको सीमानाकामा खटिएका भारतीय सीमा सूरक्षा बल (एसएसबी) ले कन्हमा बजारमा उनीहरुलाई चेकजाँच गर्ने क्रममा मासु खोसेर पोखरीमा फालेपछि विवाद उत्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस