Feature,
News
»
प्रचण्डको हत्या षड्यन्त्रमा संलग्न दुईजना पक्राउ
प्रचण्डको हत्या षड्यन्त्रमा संलग्न दुईजना पक्राउ
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हत्या षड्यन्त्रमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ परेका छन् । बर्दियामा प्रचण्डको सम्बोधन गर्ने आमसभास्थलमा
प्रेसरकुकर बम राख्ने षड्यन्त्रमा संलग्न रहेको अभियोगमा नेकपा माओवादी क्रान्तिकारी का इन्द्रकुमार चिमोरिया र विष्णु खड्का काठमाडौंमा पक्राउ परेका हुन् । कार्यक्रम सुरु हुनुअघि नै प्रहरीले त्यहाँ बम राखेको सूचना पाएकाले कुनै दुर्घटना भने हुन पाएन । प्रेसरकुकर बम निस्किृय बनाएपछि प्रहरीले सोही पार्टीका बिर्खबहादुर थापा, हरिबहादुर सुनुवार, कल्लु थारु र दलबहादुर गन्धर्वलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुबाट पेस्तोल र विष्फोटक पदार्थ बरामद गरेको थियो । अनुसन्धानको क्रममा उनीहरुले प्रचण्ड हत्याको योजनासहित कार्यक्रमस्थलमा विष्फोटक पदार्थ राखेको बयान दिएको प्रहरी दाबी छ । अनुसन्धानले खड्का र चिमौरिया बागमती क्षेत्रमा सक्रिय रहेको र बबरमहलमा बम राख्ने तथा कान्तिपुर पब्लिकेशनको गाडी जलाउने घटनामा संलग्न रहेको देखाएपछि प्रहरीले खोज्न थालेको थियो । महानगरीय प्रहरी प्रभाग दरबारमार्गले बिहीबार उनीहरुलाई चावहिलामा पक्राउ गरेपछि महानगरीय प्रहरी आयुक्तको कार्यालयले थप अनुसन्धानका लागि दुवैलाई आतंकवादसम्बन्धी अनुसन्धान गर्ने विशेष ब्युरोमा बुझाएको छ । पक्राउ परेका खड्का क्रान्तिकारीको काठमाडौं जिल्ला सेक्रेटरी रहेको खुलेको छ भने चिमौरिया सदस्य हुन् । उनीहरु काठमाडौंमा बसेर पार्टीको नाममा जबर्जस्ती रकम असुली र विध्वंसात्मक घटनामा सक्रिय रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरी अधिकारीका अनुसार खड्काले काठमाडौंमा मासु पसल चलाउँदै आएका थिए । संविधानसभा भवनअगाडि बम विष्फोट गराएको अभियोगमा पक्राउ परेका उनी कैद सजाय भुक्तान गरेर रिहा भएपछि पुन विध्वंसात्मक गतिविधिमा सक्रिय भएका थिए