खुल्यो तातोपानी नाका, ‘चीनबाट तत्काल आपूर्ति सम्भव’
वार्षिक २० अर्बको आयात र साढे २ अर्बको निर्यात गर्दै राज्यलाई ५ अर्ब रुपैयाँ राजस्व दिलाउने उत्तरको एक मात्र ठूलो तातोपानी नाका शुक्रबारबाट तिब्बतसँग जोडिएको छ। वैशाख १२ को भूकम्प, शक्तिशाली अनुकम्पन र बर्खाको बाढीपहिरोका कारण पाँच महिनादेखि अवरुद्ध अरनिको राजमार्ग चीन नाकासँग शुक्रबार साँझबाट सडक ट्र्याकले जोडिएको हो।
पाँच दिन समय दिएर फुटाल्न थालिएको लिपिङबजारको चट्टाने पहिरो बीचबाटै ट्र्याक खोलेर तीन दिनमै नेपाल–चीन छुट्ट्याउने मितेरीपुलमार्फत जोडिएको छ। साँझ ६ बजे सडक ट्र्याकले नाका जोडिएसँगै काठमाडौंबाट गएका साना सवारी साधन मितेरी पुलमै पुगेका छन्। राजमार्ग खुलाउने सडक डिभिजन कार्यालय र सवारी कर्मचारीलाई मितेरी पुलमा तैनाथ चिनियाँ सुरक्षा अधिकारीले बधाइ दिँदै भव्य स्वागत गरेका छन्।
‘राजमार्गले नाका जोड्ने कार्यभार पूरा गर्यौं,’ राजमार्ग खुलाउने कामको नेतृत्व गरेको डिभिजन कार्यालय दोलखाका इन्जिनियर रामबहादुर गुरुङले मितेरीपुलबाट टेलिफोनमा नागरिकसँग भने। भूकम्पपछि पाँचौंपटक राजमार्गले नाका जोडिएको हो। यसअघि डिभिजन कार्यालय, स्थानीय व्यवसायी र नेपाली सेनाको प्रयासमा चार पटक राजमार्ग खोलिएपनि बर्खाको बाढीले उस्तै बनाएको थियो। बर्खा थामिँदै गर्दा व्यवसायीकै दबाबमा डिभिजनले आफ्नै स्रोतसाधन र उधारोमा पेट्रोलियम पदार्थ खरिद गरेर पाँचौंपटक भदौ १५ बाट राजमार्ग अवरोध हटाउन थालेको थियो।
जारी नयाँ संविधानलाई लिएर भारतले दक्षिणी नाकामा अघोषित नाकाबन्दी गरेपछि मात्र यो मुख्य नाका सरकारी चासोमा परेको हो। सरकारले चासो दिएको सात दिनमै राजमार्गले चीन जोेडेको हो। भारतीय नाकाको तनाबले आपूर्ति असहज भएपछि साताअघि मात्रै वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनियाँ अधिकारी भेटेर उत्तरी नाका खुलाउन सहयोग गर्न आग्रह गरेको थियो। आजको नागरिकमा खबर छ ।