वर्षमानका कारण एमाओवादीमा भद्रगोल, पत्नीलाई यसरी बनाए सभामुख !
१ कात्तिक, काठमाडौं ।
कस्को नेतृत्वमा वर्तमान सरकारमा जाने भन्ने विषयमा एकीकृत नेकपा माओवादी एक हप्तासम्म चरम विवादमा फस्यो । व्यक्तिगत फाइदालाई जोडेर सचिव वर्षमान पुन अनन्तले विभिन्न शक्तिकेन्द्र परिचालन गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अप्ठयारोमा परे ।
फाइल तस्बिर
पार्टीभित्र विभिन्न कार्ड प्रयोग गरेर आफ्नी पत्नी ओनसरी घर्तिमगरलाई सभामुख बनाउ सफल भएका अनन्तले पछिल्लो समय आफू निकट व्यक्तिलाई गृहमन्त्री बनाउने लविङ्ग थालेपछि माओवादी भित्रको विवाद तिब्र भएको श्रोतको दावी छ । शान्ति प्रकृयामा आएपछि अर्थमन्त्री लगायत विभिन्न पदको लाभ लिएका अनन्तले परिवार र जनजाति उन्मुख राजनीतिलाई अगाडी सारेका छन ।
सिंहदरबारमा रहेको उपसभामुखको कार्यालय यसअघि उपसभामुख ओनसरी घर्तिले भन्दा धेरै अनन्तले प्रयोग गरेका थिए । जसका कारण संसद सचिवालयका कर्मचारीले समेत यस विषयमा छलफल गरेका थिए । ‘हामीले उपसभामुखको कार्यकक्षमा उहाँलाई भन्दा अनन्तलाई बढी सेवा सुविधा प्रयोग गरेको देखेका छौं ।’सचिवालयका एक कर्मचारीले भने, ‘त्यसैले उहाँले गरेको खर्चको विवरण समेत सचिवालयमा अवगत गराएका छौं ।’
घर्ति उपसभामुख हुँदा स—साना कुरादेखि ठूला मिटिङ्गसम्म उनकै कार्यालयमा गरियो। यो सबै खर्च सचिवालयले बेहोर्ने गरेको छ । ‘अब त पत्नी सभामुख भएपछि खर्च बढ्नै नै भयो । त्यो भन्दा अप्ठ्यारो हामीलाई सभामुखका पति अनन्तका पाहुनाको सेवा गर्नुपर्ने भयो ।’
ती कर्मचारीले पहिलेदेखिनै अनन्तले आफ्नी पत्नीलाई सभामुख बनाउन लविङ्ग गरेको बताए । माओवादीका शीर्षनेताहरुले भविष्यको नेतृत्वका रुपमा सोचेका अनन्तले व्यक्तिगत फाइदा हेरेर आफू निकटका व्यक्तिलाई गृहमन्त्री बनाउने कसरत थालेको माओवादी भित्रै चर्चाको विषय बनेको छ ।
पार्टी र पार्टी अध्यक्ष प्रचण्डका विरुद्ध उनले पूर्व लडाकु कमाण्डरको भेला गरेर महासचिव कृष्णबहादुर महरालाई सरकारमा जान रोक्ने योजना बनाएपछि महराले सरकारमा नजाने निर्णय गरेका स्रोतको भनाई छ । अनन्तले आफू निकट स्थायी समिति सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री शक्तिबहादुर बस्नेतलाई गृहमन्त्री बनाउन लविङ्ग गरेका थिए । जुन सफल पनि भयो ।
अनन्तको गेमप्लान नबुझेका जर्नादन शर्मा प्रभाकर, नन्दकिशोर पुन पासाङ्ग, धनबहादुर मास्की, तेजबहादुर ओली प्रतीक, कालिबहादुर खाम, गोविन्द बटला लगायतले समेत उनको कदमलाई साथ दिदैं अध्यक्ष प्रचण्डलाई दबाब दिएको स्रोतको भनाई छ ।
पार्टी एकताको विरुद्धमा अनन्त !
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय पार्टी एकताका लागि पहल तिब्र पारेका छन । तर त्यो कुरा अनन्तलाई चित्त बुझेको छैन । पहिल्यैदेखि प्रभाकर र पासाङ्गले थालेको एकता अभियानको अनन्त र शक्ति बस्नेतले खुलेरै बिरोध गरेका थिए ।
वैद्य र विप्लवसंग पार्टी एकता गर्दा आफूले पद नपाउने भन्दै एकताका विरुद्धमा केही पत्रकारलाई बोलाएरै बिरोधमा समाचार लेख्न समेत अनन्तले लगाएका छन् । महासचिव कृष्ण बहादुर महराले सुरुदेखिनै सबै माओवादी कम्युनिष्ट पार्टीबीच एकताको अभियान थालेपछि महरा विरुद्ध अनन्त नेतृत्वमा अभियान थालिएको थियो ।
एकता अभियान थालेका महरालाई संगठनमा जिम्मेवारीपूर्ण काम नगरेको भन्दै अनन्तले त्यसको बिरोध गरेका छन । भेलामै सहभागि एक नेताले अनन्तले आफुहरुलाई व्यक्तिगत फाईदाका लागि प्रयोग गर्न खोजेको अभिव्यक्ति दिएका थिए । पूर्व लडाकुको भेला गराएर अनन्तले नेत्रविक्रम चन्द र रामबहादुर थापासंग महराको राम्रो सम्बन्ध भएकोले गृहमन्त्री दिन नहुने बताएका थिए ।
अनन्त र नेत्रविक्रम चन्दबीच राम्रो सम्बन्ध छैन । त्यसो त आफू भन्दा धेरै सिनियर रहेका रामबहादुर थापा बादलसंग समेत अनन्तको बोलचाल बन्द छ । अर्थमन्त्री हुँदा विभिन्न संचार माध्यममा लगानी गर्न लगाएर आफू निकट जनजाति पत्रकारलाई जागिर खुवाएका अनन्तले देशैभर संगठन आफ्नो पक्षमा रहेको समेत बताउने गरेका छन ।
नेपाल पत्रकार महासंघमा क्रान्तिकारी पत्रकार संघमा आवद्ध पत्रकारलाई भन्दा एक जनजाति पत्रकारलाई पदाधिकारीमा ल्याउन समेत अनन्तले संघका नेताहरुलाई गाली गरेका थिए । पछिल्ला उनका गतिविधिले उनी व्यक्तिगत फाईदामा लाग्ने नेताका रुपमा परिचित बनेको माओवादी श्रोतको आरोप छ ।
सात दिनपछि प्रचण्डले टुंगो लगाए सात मन्त्री
कम्युनिष्ट केन्द्र बनाउन लागेका अध्यक्ष प्रचण्ड समेत अनन्तका क्रियाकलापका कारण चिन्तित बनेका छन । मन्त्री छान्ने कुरामा अनन्तले बिरोध गर्न लगाएपछि माओवादी भद्रगोलमा फसे पनि ८ जना मन्त्रीको भने प्रचण्डले टुंगोलगाएका छन् ।