भारतीय कांग्रेस नेताले लेखे – नेपाल मामिलामा मोदीले चीनसँग हारे

काठमाडौँ : भारतीय कांग्रेसका नेता एवम् पूर्व केन्द्रीय मन्त्री मनिष तिवारीले नेपाल मामिलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीनसँग पराजित भएको लेखेका छन्।
भारतमा इन्डिया अफ्रिका समिट सुरु हुनुअघि माइक्रो ब्लगिङ साइट ट्विटरमा उनले भारतीय प्रधानमन्त्री मोदीलाई अफ्रिकालाई छाडेर कम्तीमा नेपाल हेर्न सुझाव दिएका छन्। तिवारी भारतको पूर्व सूचना तथा सञ्चार मन्त्री समेत रहिसकेका छन्।
उनले लेखेका छन् – प्रधानमन्त्रीज्यू अफ्रिकालाई बिर्सनुस्, तपाईंले नेपाललाई समेत चीन सामु गुमाइसक्नुभएको छ। कारण तपाईंको नेपाल हिन्दु राष्ट्र हुनुपर्ने हठ। अब नेपालमा तेल चीनले पठाउँदैछ।
बिहीबारदेखि भारतमा इन्डिया अफ्रिका समिट हुँदैछ। सम्मेलनमा सहभागी हुन अफ्रिकी मुलुकका राष्ट्रहरु भारत आइसकेका छन्। भारतले आफ्नो बजार विस्तारका लागि अफ्रिका समिट गर्न लागेको हो। पछिल्लो समय चीनले अफ्रिकी मुलुकमा आफ्नो सम्बन्ध र व्यापार विस्तार गरेपछि भारत पनि अफ्रिकाप्रति आकर्षित भएको हो।
पूर्वमन्त्री तिवारीले नेपालमा बुधबारबाटै भारतको तेल बिक्रीको एकाधिकार तोडिएको विषयमा मोदीको ध्यानाकर्षण गराएका हुन्। नेपाल र चीनबीच बुधबार चीनबाट नेपाल पेट्रोलियम पठाउने सम्झौतामा हस्ताक्षर भएको थियो। यसअघि भारतको इण्डियन आयल कर्पोरेसनको नेपाल एकलौटी पेट्रोलिमय बजार रहेको थियो।