घर फर्किदै गरेका गुल्मीका पाण्डे र भुषालमाथी भारतीय बजारमा लुटपाट र कुटपिट

काठमाडौं, १० असौज । मधेश बन्दका कारण यतिबेला भारतमा रोजगारी गरि दशैं मनाउन नेपाल फर्किने क्रममा सीमावर्ती भारतीय बजारमा गुल्मीका पाण्डे र भुषाल माथी कुटपिटका साथ लुटपाट पनि भएको छ ।
४ महिना दिल्लीको निलगीरी प्रा.लि.मा काम गरेर घर फर्किरहेका गुल्मी जिल्ला तम्घास–३, का काशिराम पाण्डे भारतीय बजार नौतवनामा आइपुग्दा सोमबार राति लुटिएका हुन् । दशैँ–तिहार मनाउन सुःख–दुःख गरी कमाएको पैसा र छोराछोरीका लागि कपडा समेत लिएर आएका उनी सीमावर्ती भारतीय शहर सुनौली नाकाबाट नेपाल भित्रिँदै गर्दा रित्तो हात फर्किए । उनीसंग आफूले लगाएको सर्ट–पाइन्ट र चप्पल बाहेक अरु केही पनि थिएन ।


 उनले इलाका प्रहरी कार्यालय बेलहियामा आफू भारतीयहरुबाट लुटिएको तथा कुटिएको भन्दै उजुरी गरे । पाण्डेले भने,“सर म त बर्बाद भँए, बसबाट आउँदै थिए । नौतवना आइनपुग्दै बस रोकियो त्यहीबीचमा ४ जना केटाहरु बसमा छिरे यता उता हेरे अनि एक्कासी मलाई बाहिर निकाले । अनि मेरो बारेमा सोधपुछ गरे मैले म दिल्लीमा काम गरेर आफ्नो देश नेपाल जाँदै छु भने । त्यसपछि उनीहरुले मलाई एक्कासी कुटपिट गरे । मेरो झोला खोसे । मसंग भएको १८ हजार २ सय ४० भारतीय रुपैयाँ समेत लुटे । अनि कसैलाई भनिस् भने मार्दिन्छौँ भने । म बोल्नै सकिनँ । पछि बसमा रहेका अन्य यात्रुलाई भनेँ, तर कसैले मेरो कुरा सुनेन ।”
पाण्डेको दुःख सुनेपछि इलाका प्रहरी कार्यालय बेलहियामा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विरबहादुर पुलामीले उनलाई प्रहरी मेसको खाना खुवाई पश्चिमाञ्चल बस व्यवसायी समिति बेलहिया इन्चार्ज सुरेन्द्र क्षेत्रीलाई बोलाई उनलाई तम्घाससम्म निःशुल्क पुर्याइदिन आग्रह गरे । उनको आग्रह अनुसार क्षेत्रीले पाण्डेलाई बस मार्फत् तम्घासतर्फ पठाईदिएका छन् । पाण्डेको मुखमा कुटपिटबाट चोट लागेको छ ।
७ महिना पञ्जाबको कोठीमा बगाएको पसिना घर नपुग्दै भारतीय बजारमा ध्वस्त हुँदा गुल्मी पुर्कोटका रविलाल भुसाल पनि यिन्तु न चिन्तु देखिन्थे । भुसाललाई पनि गोरखपुरमा नाटकीय ढंगले लुटियो । घरमा दुःख भएपछि गत चैत्रमा पहिलोचोटी भारतमा रोगजारी खोज्न गएका उनी एउटा महाजनकोमा कोठीमा काम पाए । सुःख–दुःख काम गरे फर्किने बेला ५८ हजार भारतीय रुपैयाँ लिएर आएका उनको घर पुगेर छोराछोरी र श्रीमतिसंगै दसैंमा रमाउने खाने र गाउँमा लागेको ऋण तिर्ने सपना गोरखपुरमै चकानाचुर भयो । बेलहियामा जसोतसो आइपुगेका भुसाल कसरी घर जाने भनेर चिन्ता गर्दै थिए ।

प्रतिक्रिया दिनुहोस