रसुवागढी नाका असोज २४ देखि खुल्ने
त्रिशूली, नुवाकोट : नेपालमा संविधान बनेपछि असन्तुष्ट भारतले नाकाबन्दी गरेपछि अफ्ठेरोमा परेका नेपालीलाई सहयोग गर्न चीनले रसुवागढी नाका खोल्ने भएको छ । चीनले यही अक्टोबर ११ तारिख अर्थात् असोज २४ गतेदेखि रसुवागढी नाका खोल्ने जनाएको छ ।
नेपालका दक्षिणी भेगका नाकामा भारतले नाकाबन्दी गरेपछि चीनसँग सीमा जोडिएको काठमाडौंबाट छोटो दुरीको रसुवागढी नाका अबको १० दिनमा सुचारु गरिने रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केदार पनेरुले जानकारी दिए ।
रसुवागढीमा रहेको चीनको अध्यागमन कार्यालयका उच्चतहका कर्मचारीले रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, भन्सार अधिकृत पनेरु र जिल्ला प्रहरी प्रमुख डिएसपी अवदेश विष्टसँगको भेटमा आफूहरुले अक्टोबर ११ देखि नाका सञ्चालन गर्ने बताएका हुन् ।
नाका सुचारु गर्न सडक विभागका महानिर्देशक माधव कार्कीले यातायातको सहजताका लागि रसुवागढी नाकाबाट रसुवा, नुवाकोट हुँदै काठमाडौ पुग्ने सडक मार्ग चालू हालतमा राख्न डिभिजनल सडक कार्यालय नुवाकोटलाई निर्देशन दिइसकेका छन् ।
नेपाल आयल निगमले रसुवागढी नाकाको सहजताका लागी परिचालन गरिने स्काभेटरलगायतका आवश्यक यन्त्रका लागि आठ हजार लिटर डिजेल उपलव्ध गराइसकेको छ ।
नाका सञ्चालनको लागि टिमुरे गाविस–१ मा रहेको भोटेकोसी नदीको किनारामा भन्सारको गेट र सुरक्षाचौकी निर्माण कार्य पनि बिहीवारदेखि सुरु गरिएको छ । पाँच दिनभित्र भन्सार गेट र सुरक्षा पोष्ट बनाइसकिने रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।
चीनको रसुवागढीमा रहेका अध्यागमन अधिकारीले अक्टोबर ११ तारिखदेखि नाका खोल्ने प्रतिवद्धता जनाएपछि खासाबाट केरुङतर्फ नेपालको लागि सामान छुटिसकेको जानकारी प्राप्त भएको भन्सार अधिकृत केदार पनेरुले वताए । उनका अनुसार नेपालका लागि एकसय कन्टेनर खासाबाट सामान बोकेर हिँडिसकेका छन् ।
रसुवागढी–केरुङ सडकमार्गबीचमा रहेको ढोङ्साको पहिरो पनि हटाइसकिएको जानकारी प्राप्त भएको पनेरुले बताए । लाङटाङ राष्ट्रिय निकुन्जले पनि सामान आयात निर्यातका लागि पुनः अनुमति दिइसकेको छ ।
दुई वर्ष अघिमात्र आधिकारिकरुपमा सञ्चालनमा आएको रसुवागढी नाका वैशाख १२ को विनासकारी भुकम्पका कारण ठप्प रहेको थियो ।
भारतले नाकाबन्दी गरेपछि उत्तरतर्फको सो नाका सञ्चालन भएपछि दैनिक उपभोग्य सामग्रीको आयातमा सरलता आउने भएको छ । रसुवागढीस्थित चिनियाँ अध्यागमन कार्यालयका अधिकारीले रसुवागढी नाका अबको १० दिनमा खुल्ने बताएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।
‘चीनले अबको १० दिनमा नाका खुलाउँछ, नाकाको मार्गमा पहिरोको समस्या हटेको छ’, रसुवागढीस्थित चीनको अध्यागमन कार्यालयका अधिकारीको भनाइ उधृत गर्दै रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।
रसुवागढी–केरुङ सडकमार्गको १७ किलोमिटर दुरीमध्ये वीचमा रहेको ढोङ्सामा तीनवटा घुम्तीमा पहिरो पहिरो हटाइसकिएको छ ।
रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष कैसाङनुर्वु तामाङ चीनका एक साथीले चीनबाट पठाइदिएको सामान आयात गर्न केरुङ पुगेर फर्किएका हुन् ।
उनका अनुसार चीनले बडादशैंलाई लक्षित गर्दै रसुवागढी नाका सञ्चालन गर्ने भएको हो । कुटनीतिक पहल सकिएपछि चीनले १० दिनभित्र नाका सञ्चालन गर्ने जनाएको छ ।
नेपालवाट चीन प्रवेशको दोश्रो ठुलो तथा छोटो रसुवागढी नाका चीनको खम्बाटारदेखि ७ किलोमिटर पर घुम्तीमा पहिरोका कारण अबरुद्ध बाटो सफा गरेर १० दिनभित्रै चिनियाँ सामान काठमाडौं लैजाने तयारी भएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।
भारतले नेपाल प्रवेश गर्ने नाका बन्द गरेपछि उत्तरी नाका रसुवागढी तत्काल खोल्नुपर्ने नेपालीको माग रहेको छ ।
रसुवागढी नाका सञ्चालनसँगै पहिलो चरणमा चीनबाट खाद्यान्न र लत्ताकपडा ल्याउने नेपाल–चीन केरुङ व्यापार संघले जनाएको छ ।
रसुवागढी अन्तर्राष्ट्रिय व्यापारिक नाका सञ्चालनमा आएको पाँच महिनापछि भूकम्पका कारण बन्द भएको थियो । रसुवागढी नाकालाई प्राथमिकतामा राखेर चीनले पाँच महिनापछि पुनः खोल्न लागेको रसुवाका प्रहरी प्रमुख डिएसपी अवदेश विष्ट बताउँछन् ।
रसुवागढी नाका व्यवस्थित गरेमा भारतले अनावश्यक दुःख दिन खोजे चीनबाट अत्यावश्यक बस्तु आपूर्ति गर्न सजिलो हुन्छ । चीनको सिगात्से आइपुगेको रेलमार्ग सन् २०२० भित्रै रसुवागढीबाट ३५ किलोमिटर दुरीको केरुङ जोड्ने चीनको योजना रहेको छ ।
उक्त रेलमार्ग रसुवागढी, नुवाकोट हुँदै काठमाडौसम्म जोड्ने चीनको तयारी छ । उक्त योजनाले मूर्तरुप लिए भारतले दिएको अनावश्यक दुःखबाट स्वाभिमानी नेपाली प्रताडित हुन नपर्ने नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजनलाल श्रेष्ठ बताउँछन् ।
दक्षिणका नाका बन्द भएकाले उत्तरी नाका खुलेपछि नेपालतर्फको साँघुरो बाटो फराकिलो बनाउन तत्काल सुरु गर्नु पर्ने व्यापारीहरु बताउँछन् ।
चीनको केरुङदेखि काठमाडौंसम्मको दुरी १ सय ८५ किलोमिटर मात्र रहेको छ । विनाशकारी भूकम्पसँगैको पहिराले रसुवागढीमा रहेको भन्सार पुरेको थियो । उक्त भन्सार हाल एक किलोमिटर नजिकै टिमुरेमा सारिएको छ ।
भूकम्प गएको १५ दिनपछि चिनियाँ टोली आएर रसुवाको स्याफ्रुबेसीदेखि रसुवागढीसम्मको १६ किलोमिटर सडक खुलाएको थियो ।
स्थानीय प्रशासनले पनि यसलाई निकै चासो लिएर रसुवागढी नाकाको स्थलगत अवलोकन गरेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केदार पनेरुलगायत, सेना, प्रहरीको टोलीले रसुवागढी नाकाको स्थलगत भ्रमण गरेर नाका सञ्चालनको पहल गरेको हो ।
‘नेपालतर्फको स्याफ्रुवेशी–रसुवागढी मार्ग सुरक्षित छ, भोटेकोशी नदीमाथिको पुल पनि गाडी पार गर्न सकिने छ’, प्रजित गेलालले भने, ‘चीनबाट नाका खुलाए, तत्काल खुल्छ, जे होस खोल्ने भनिएको छ, यो नेपाललाई सकारात्मक विषय हो ।’
चीनको रसुवागढीस्थित अध्यागमन श्रोतका अनुसार बाँकी सडकमार्ग सफा गर्ने कार्य सकिएपछि नाका सञ्चालन हुनेछ । यसले नाकाबन्दी गरेर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको भारतलाई अफ्ठेरोमा पार्नेछ ।
नेपाल–चीन सीमानाका रसुवागढीबाट नुवाकोट हुँदै अबको १० दिनमा काठमाडौंमा चिनियाँ सामग्री पुग्ने भएपछि सर्वसाधारण खुसी भएका छन् । रसुवागढी नाका खोल्न चीनले पनि केरुङतर्फको सबै अवरोध हटाउने भएको छ ।
नाका खुलेपछि चीनले नेपाललाई आवश्यक सबै सामान उपलब्ध गराउनेसमेत भएको छ । चीनको नाका खुलाउन चीन सकारात्मक भएसँगै भन्सारका कर्मचारीले रसुवागढीमा तयारी गरिसकेका छन् ।
रसुवागढी भन्सार कार्यालय पनि चीनबाट सामान आए जाँच पास गर्न तयारी अवस्थामा बसेको भन्सार कार्यालयका प्रमुख केदार पनेरुले बताए ।
पनेरुले नेपालतर्फको बाटोमा ठूलो समस्या नरहेको बताउँदै बाटो मर्मतका लागि काठमाडौंबाट थप एक्साभेटरहरु आउँदै गरेको जानकारी दिए ।
रसुवागढी नाका खुलाउन चिनियाँ पक्षले भूकम्पले भत्काएको सडक सफा गरेको छ । रसुवागढी नाका खुलेपछि चीनबाट एक सय ५० किलोमिटरको दूरीमा चिनियाँ सामान काठमाडौं पुग्ने छ ।
तराईका चितवनलगायतका जिल्लाहरुमा सामान ढुवानी गर्न पनि यो नाका निकै छोटो मानिन्छ । भारतले नेपालमा नाकाबन्दी गरेपछि चीनबाट सामान आयात गर्न नयाँ नाकाको खोजी अनुरुप रसुवागढी नाका खुलाउन चीनका अधिकारी सहमत भएका थिए ।