केयर गिभरमा इजरायल जान इच्छुक नेपालीहरुको लागि निवेदन पेश गर्ने बारे को सूचना

काठमाडौँ, २१ असोज, नेपाल सरकार र इजरायल सरकारबीच भएको पूर्व सहमति अनुसार अन्ततः नेपाली कामदारहरुका लागि इजरायलमा केयर गिभरको काम गर्ने सुनौलो मौका प्राप्त भएको छ । वैदेशिक रोजगार विभागले आज एक सूचना प्रकाशित गर्दै इजरायल जान इच्छुक र योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो । नेपाल र इजरायल सरकारबीच २०७२ साउन २२ गते भएको सहमति अनुसार केयर गिभरको संयुक्त पाइलट कार्यक्रम अन्तर्गत, ३०० जना  कामदार लाने सहमति अनुसार यो विज्ञापन गरिएको जनाइएको छ ।



इजरायलमा बृद्ध, अपाङ्ग तथा अशक्त रोजगारदाताको निजी उनीहरुको स्याहार, सम्भार र रेखदेख गर्न इच्छुक योग्य नेपाली नागरिकहरुले यो सूचना अनुसार आवेदन दिन सक्नेछन् । विभागका अनुसार आगामी कार्तिक १५ गते अर्थात नोभेम्बर १, २०१५ भित्रमा विभागमा आवेदक स्वयम उपस्थित भई दरखास्त दिनु पर्ने पनि जनाइएको छ । आवेदन फारमको ढाँचा विभागको वेभसाइटबाट डाउनलोड गर्न सकिने पनि जनाइएको छ ।

केयर गिभरको अन्तिम छनौट गर्ने सम्पूर्ण जिम्मेवारी Department of Foreign Employment (DOFE) / Population & Immigration Authority (PIBA) को मात्र हुने भएकोले कुनै पनि इजाजतपत्रवाला म्यान पावर एजेन्सी वा प्रतिनिधि तथा अन्य व्यक्तिसँग सम्पर्क तथा कारोबार नगर्नु हुन पनि विभागले सबैलाई सूचित गरेको छ । साथै छनौटको तरिका र प्रकृया पनि सोही निकायलाई मात्र जानकारी हुने भएकोले अन्यत्रको बहकाउमा नलाग्न पनि आग्रह गरेको छ ।

यो चरण अन्तर्गत प्रथम चरणमा सफलतापूर्वक छनौटमा परेका (अंग्रेजी भाषाको परीक्षामा उत्कृष्टता प्राप्त गरेका र २० घण्टाको व्यवहारिक तालिम सहित ६० घण्टाको थप तालिम सम्पन्न गरेका व्यक्ति इजरायल जान पाउने पनि जनाइएको छ । विभागका अनुसार यो पटक ५० देखि ६० जना योग्य व्यक्ति (८० प्रतिशत महिला र २० प्रतिशत पुरुष) लाई नमुनाको रुपमा इजरायल पठाइने छ ।

आवेदकको योग्यता र अन्य जानकारीको लागि तलको सूचना हेर्नुहोलाः

प्रतिक्रिया दिनुहोस