पाकिस्तानले सोध्यो, ‘नेपाल भारतले नाकाबन्दी गरेको भन्न किन सक्दैन ?’
काठमाण्डु, १८ कात्तिक– सार्क सदस्य मुलुक पाकिस्तानले भारतीय नाकाबन्दीको चपेटामा परेको नेपाललाई सहयोग गर्ने इच्छा व्यक्त गरेको छ ।
नेपालका लागि पाकिस्तानी राजदूत अर्सद सउद खोसाले सभामुख ओनसरी घर्तीलाई बुधबार सिंहदरबारमा भेटेर जुनसुकै सहयोगका लागि पाकिस्तान तयार रहेको बताएका हुन् ।
सभामुख निर्वाचित भएकामा बधाई दिन पुगेका राजदूत अर्सदले नाकाबन्दीका कारण नेपाली जनताले दुःख पाएकोबारे पाकिस्तान सरकार जानकार रहेको भन्दै सहयोगको प्रतिबद्धता जनाएका हुन् ।
त्यस क्रममा उनले सभामुख घर्तीसमक्ष नेपालका राजनीतिक दल, संसद् र सरकारले भारतले नाकाबन्दी गरेको भन्न नसक्नुको कारणबारे चासो राखेका थिए ।
‘हामीलाई थाहा छ नाकाबन्दीका कारण नेपालीलाई ठूलो सास्ती ब्यहोरिरहेका छन्’, राजदूत असर्दको भनाइ उद्धृत गर्दै सभामुख घर्तीले भनिन्, ‘असल मित्रका नाताले हामी नेपाललाई परेको दुःखमा जस्तो सुकै सहयोगका लागि तयार छौं ।’


