आपराधिक गतिविधि नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री शक्तिबहादुर बस्नेतले तीनवटै सुरक्षा निकायका प्रमुखलाई मधेसी मोर्चाका कार्यकर्ताले आन्दोलनका क्रममा गर्ने आपराधिक गतिविधि नियन्त्रण गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानका प्रमुखसँगको छलफलमा उनले गैरराजनीतिक गतिविधि तत्काल नियन्त्रण गर्नुपर्ने बताए ।


मधेसमा भइरहेको असामान्य गतिविधि नियन्त्रण गर्न सुरक्षा निकाय असफल भएको उनले बताए । राजमार्ग र पुल भत्काउने तथा बिरामी बोकेका एम्बुलेन्स र सवारी साधन तोडफोड रोक्न नसकेको भन्दै उनले आक्रोश पोखे । त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरमा ल्याउन उनले सुरक्षा प्रमुखलाई निर्देशन दिए ।

छठपछि मधेसी मोर्चाले राजमार्ग अवरोध बढाएको उल्लेख गर्दै मन्त्री बस्नेतले तीन महिनादेखि एकै प्रकारको आन्दोलन भइरहे पनि सुरक्षा निकायले नियन्त्रण गर्न नसकेको बताए ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले गतिविधि नियन्त्रण लागि सरकारले लिखित निर्देशन दिनुपर्ने माग गरे । तराईका केही जिल्लाका प्रमुख जिल्ला अधिकारीले मधेसी मोर्चाको आन्दोलनलाई सहयोग पुर्‍याएको आरोप उनले लगाए । ७ जिल्लाका प्रजिअले शान्ति सुरक्षा कायम गर्न सहयोग नगरेको ठहर गृह मन्त्रालयको पनि छ ।

यसैबीच, गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरलाई फिर्ता बोलाएको छ । शान्ति सुरक्षा कायम गर्न समन्वय नगरेको भन्दै उनलाई जिम्मेवारीबाट हटाइएको हो । आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस