मोदीलाई भारतबाटै आयो चेतावनी : ‘ नेपाललाई धम्क्याउन छोड ’

काठमाडौं २० कार्तिक / नेपालमाथि नाकाबन्दी गरेर गरेर हाहाकार सिर्जना गराएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल नीतिको भारतभित्रै चर्को विरोध हुन थालेको छ ।

भारतीय सञ्चारमाध्यमहरुले नेपालसँगको सम्बन्ध सुधार गर्न सम्पादकीय लेखेको केही दिनमा भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीले नेपाललाई नधम्क्याउन चेतावनी दिएको छ ।
नेपालमा अत्यावश्यक सामग्रीको अभाव हुन थालेको भन्दै सो पार्टीले नाकाबन्दी अन्त्य गर्न र सीमामा जारी अवरोध सहज बनाउन दबाब दिएको हो ।
भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीको मुखपत्र ‘पिपुल्स डेमोक्रेसी’ को सम्पादकीयमा भनिएको छ, ‘मोदी सरकारले नेपाललाई डर देखाउने, धम्क्याउने नीति त्याग्नु पर्दछ । नेपाल सरकारसँग सल्लाह गरेर सीमामा देखिएको अवरोधलाई हटाउन भारत सरकारले पहल गर्नु जरुरी छ ।’
नेपालसँगको विवाद गर्ने मोदी सरकारको नीतिले दुई देशबीचको सम्बन्धमा अपूर्व फाटो आएको उल्लेख गर्दै नेपालमा जारी संविधानप्रति नकारात्मक दृष्टिकोण राखेपछि भाजपा सरकारले तनावलाई अझ बढाउने काम गरेको उल्लेख गरिएको छ ।
मधेसमा जारी आन्दोलनलाई मोदी सरकारले समर्थन गरेको सम्पादकीयमा मधेसी अवरोधको बहाना बनाएपनि कुनै अवरोध नभएका नाकाहरुमा समेत अवरोध गरेको उल्लेख गरिएको छ ।
सो पार्टीले नेपालमाथि भारतले नै नाकाबन्दी गरेको पनि जनाएको छ । नेपालमा रहेको असन्तोषको समाधान गर्ने जिम्मा नेपालकै भएको भन्दै नेपालमाथि हस्तक्षेप गर्ने भारतीय नीति प्रभुत्ववादी सोच भएको उल्लेख गरिएको छ ।नेपाल शन्देशबाट

प्रतिक्रिया दिनुहोस