नेपाल छिरेर भारतीय फौजले गोली हान्यो, चार गम्भीर !

सुनसरी : भारतीय सीमा सुरक्षा बल एसएसबीले सुनसरीस्थित नेपाली भूमिमा छिरेर गोली बर्साउँदा चारजना नेपाली गम्भीर घाइते भएका छन् ।
     

सुनसरीको भन्टाबारीस्थित नेपाली भूमिमा बुधबार बिहान छिरेका करिब १० जना एसएसबीको समूहले गोली बर्साउँदा चार नेपाली गम्भीर घाइते भएका हुन् ।

एकाबिहानै एसएसबीले हानेको गोली लागेर हरिपुर गाविस–७ का अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जय शर्माले जानकारी दिए ।
एसएसबीले प्रहार गरेको गोली अशोक यादवको पेटमा लागेको छ । त्यसैगरी नरेश, मनोज र सरोजको ढाड र शरीरका अन्य भागमा गोली लागेको स्थानीयबासी पप्पु यादवले बताए । गोली लागेर गम्भीर बनेका उनीहरुलाई स्थानीयबासी र नेपाली प्रहरीेले उद्धार गरी उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाएका छन् । स्थानीयबासीका अनुसार भारतीय बजारबाट इन्धन लिएर आउँदै गरेका उनीहरुलाई एसएसबीले लखेटी लखेटी गोली हानेको थियो ।

नेपालीमाथि गोली बर्साएपछि एसएसबीको टोली भारतीय भूमितर्फ फर्केको छ । घटनाबारे अनुसन्धान भइरहेको सुनसरीका एसपी सञ्जय शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस