चीनको कुराले मधेशी मोर्चाको जनकपुर बैठकमा चर्काचर्की !

जनकपुरमा जारी संयुक्त मधेशी मोर्चाको बैठकमा चीनको झण्डा जलाइएको बिषयलाई लिएर चर्काचर्की भएको छ ।

बैठकको सुरुमै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चीनको पक्षमा बोलेपछि, चर्काचर्की भएको हो ।
यादवले मधेशको अधिकांश जिल्लामा चीनको विरोधमा प्रदर्शन भएको चीनको झण्डा समेत जलाइएको भनेपछि तमसपाका महेन्द्र राय यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रतिवाद गरेका थिए ।
चीनले नेपाललाई इन्धन दिने सहमति गरेपछि मोर्चामा आबद्ध महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादवले पत्रकार सम्मेलन गरेर चीन सरकारको विरोध गरेका थिए ।
हिजो साँझ सुरु भएको मोर्चाको बैठकमा बैठकमा चीन विरोधको प्रसंग उठेपछि केहीबेर तनाव भएको थियो ।
बैठकमा फोरम नेपालका वरिष्ठ नेता अशोक राईले मोर्चाको तर्फबाट चीनको विरोध भयो भने आफ्नो पार्टी मोर्चामा नबस्ने चेतावनी दिएका थिए ।
उनको कुरालाई पार्टी अध्यक्ष उपेन्द्र यादवले पनि समर्थन गरेपछि महेन्द्र यादव र राजेन्द्र महतोले विरोध गरेका थिए । यही बिषयमा विवाद भएपछि मोर्चाको बैठक बिषय प्रवेश नै नगरी सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस