ग्यास र इन्धन आपूर्तिको लागि निगमको टोली आज बंगलादेश जाँदै
बंगलादेशबाट ग्यास र इन्धन आपूर्ति गर्ने विषयमा छलफल गर्न नेपाल आयल निगमको टोली आज त्यस तर्फ जाने भएको छ । निगमको आपूर्ति वितरण तथा एभिएशन विभागका निमित्त निर्देशक एवं प्रवक्ता मुकुन्द घिमिरे र इन्जिनियरिङ तथा परियोजना विभागका निमित्त निर्देशक बिरेन्द्र गोइन आज बंगलादेश जान लागेका हुन ।
दिउँसो १२ बजे बंगलादेश जान लागेको र भोली त्यहाँका वाणिज्य तथा आपूति मन्त्री लगायतसँग उच्च स्तरिय भेटघाट गरी ग्यास र इन्धन आपूर्तिका बारेमा महत्वपूर्ण छलफल हुने प्रवक्ता घिमिरेले नेपालीहेड्लाइन्सलाई जानकारी दिए। छलफलमा टोलीले बंगलादेशको कुन कम्पनीसँग ग्यास किन्ने भन्ने कुराको निर्क्यौल गरी मुल्य र परिमाण बारेमा गृहकार्य गरेर आउने र त्यसको आधारमा प्रक्रिया अघि बढाउने घिमिरेको भनाई छ ।
भारतको नाकाबन्दी
का कारण पेट्रोलियम पदार्थसँगै खाना पकाउने ग्यासको चरम अभाव भएपछि सरकारले बंगलादेशबाट ग्यास र इन्धन ल्याउने विकल्पको खोजि गरेको हो । नेपालको काँकडभित्ता नाकाबाट ५२ किलोमिटर दूरीमा बंगलादेशको सिमाना पुग्न सकिन्छ । दूरीको हिसावले नजिक हुने भएकोले पनि गृहकार्य थालिएको निगमले जनाएको छ ।