फ्रान्सले यसरी लियो पेरिस आक्रमणको बदला आईएसका कमाण्डरसहित ३३ लडाकू मारिए
बेरुत (लेबनान), २ मङ्गसिर । पेरिसमा शुक्रबार भएको आक्रमणको पृष्ठभूमिमा फ्रान्स र रसियाद्वारा विभिन्न ठाउँमा गरिएको कारबाहीमा गएको ७२ घण्टाभित्र कम्तिमा ३३ जनाको मृत्यु भएको यहाँका मानवअधिकारवादी संस्थाले बुधबार जनाएको छ ।
मृत्यु हुनेमा अतिवादी इस्लामिक स्टेट संस्थाका निर्देशक समूहमा आवद्ध जिहादी रहेको बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्थाका निर्देशक रामी अब्देल रहमानले बताउनुभएको छ ।
रहमानका अनुसार जिहादी मुसलमान समूहको प्रभाव क्षेत्र राकास्थित विभिन्न हतियार भण्डार केन्द्र, ब्यारेक र सुरक्षा जाँच केन्द्रमा भएका भिडन्तमा दर्जनौँ आईएस लडाकू घाइते भएका छन् ।
शुक्रबार १२९ जनाको ज्यान लिएको पेरिस आक्रमणपछि फ्रान्सले राका क्षेत्रलाई प्रमुख निशाना बनाई लगातार सिरियामा गएको तीन दिनदेखि आफ्ना युद्धक विमानद्वारा सैन्य कारबाही चलाउँदै आएको छ ।
यसैगरी, रसियाले पनि राका क्षेत्रमा आफ्ना लामो दूरीका क्षेप्यास्त्र तथा सामुद्रिक क्षेत्रबाट कारबाही संचालन गरिरहेको छ ।
मृत्यु भएका प्रायः आईएस लडाकू सुरक्षा जाँच केन्द्रमा परेका प्राप्त समाचारमा बताइएको छ । रासस/एएफपी